पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। यसैक्रममा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नं. २१ मा व्यापक घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
वडा नं. २१ का विभिन्न टोलहरूमा पुगेका यादवलाई स्थानीय आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूले आत्मीय स्वागत गरेका थिए। घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका यादवप्रति स्थानीयले आशा र विश्वास व्यक्त गरेका छन्। जनताको भीड र उत्साहले कार्यक्रमलाई भव्य बनाएको सहभागीहरूको भनाइ छ।

घरदैलोका क्रममा यादवले स्थानीय बासिन्दाका समस्या, गुनासा र अपेक्षाहरू ध्यानपूर्वक सुने। खानेपानी, सडक स्तरोन्नति, ढल व्यवस्थापन, सरसफाइ, शिक्षा र स्वास्थ्य सेवामा सुधारका विषयमा स्थानीयले उठाएका सवालहरूलाई प्राथमिकतामा राखेर समाधान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
“आज विभिन्न टोलहरूमा सम्पन्न घरदैलो तथा जनता दर्शन कार्यक्रम भव्य रूपमा सफल भएको छ। यहाँका आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा युवासाथीहरूले दिनुभएको अपार माया, साथ, सुझाव र विश्वासले मलाई अझ बढी जिम्मेवार बनाएको छ,” यादवले भने।
उनले घर–घरमा पुगेर प्रत्यक्ष रूपमा जनताका समस्या, अपेक्षा र सुझाव सुन्न पाउनु आफ्ना लागि ठूलो सौभाग्य भएको उल्लेख गरे। “वडा नं. २१ को समृद्धि, विकास र सुशासनका लागि तपाईंहरूको साथ र समर्थन निरन्तर आवश्यक छ,” उनले जोड दिए।
यादवले आगामी दिनमा वडा नं. २१ लाई उदाहरणीय, स्वच्छ, सुरक्षित र विकासित वडा बनाउने लक्ष्यसहित योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय विकासलाई दिगो र पारदर्शी बनाउने तथा युवाहरूका लागि रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकता दिने उनले बताए।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, युवा तथा महिला समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यसपटक परिवर्तन र विकासका एजेन्डामा आधारित नेतृत्व आवश्यक रहेको धारणा राख्दै यादवप्रति समर्थन जनाएका छन्।
पर्सा–१ मा प्रतिस्पर्धा चर्किंदै जाँदा वीरगञ्ज–२१ मा देखिएको जनलहरले चुनावी समीकरणमा नयाँ संकेत दिएको छ। घरदैलो अभियानलाई अझ तीव्र बनाउँदै जनताको विश्वास जित्ने रणनीतिमा यादव सक्रिय देखिएका छन्।