नेपाल सरकार अन्तर्गत गृह मन्त्रालय मातहत रहेको जिल्ला प्रशासन कार्यालय पर्सा ले वीरगञ्जका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोलादाहालद्वारा जारी आदेशअनुसार पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो।
जारी आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र तोकिएका चार किल्लाभित्र कुनै पनि व्यक्ति आवत–जावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा–बैठक गर्न वा घेराउ गर्न नपाउने स्पष्ट उल्लेख गरिएको छ।
जिल्ला प्रशासनले कर्फ्यूको भौगोलिक सिमाना पूर्व बाइपास रोड, पश्चिम सिरसिया नदी,उत्तर गण्डक चौक, दक्षिण शंकराचार्य गेट तोकेको छ |उक्त क्षेत्रलाई पूर्ण रूपमा निषेधित क्षेत्र घोषणा गर्दै सुरक्षाकर्मीलाई कडा निगरानी गर्न निर्देशन दिइएको छ।
यद्यपि, कर्फ्यू अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, परीक्षा केन्द्रमा खटिने कर्मचारी, पूर्वनिर्धारित परीक्षा दिन जाने परीक्षार्थी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटका आधारमा आवतजावत गर्ने यात्रुलाई भने सुरक्षाकर्मीबाट सहजीकरण गरिने उल्लेख गरिएको छ।
पछिल्लो समय वीरगञ्जमा बढ्दो तनाव, प्रदर्शन तथा संभावित झडपको अवस्थालाई ध्यानमा राख्दै प्रशासनले कडा कदम चालेको बुझिएको छ। सीमावर्ती सहरका रूपमा परिचित वीरगञ्जमा कुनै पनि प्रकारको अस्थिरता फैलिन नदिन सुरक्षा निकाय उच्च सतर्कतामा राखिएको स्रोतले जनाएको छ।
राजनीतिक वृत्तमा भने कर्फ्यू आदेशलाई लिएर विभिन्न प्रतिक्रिया देखिन थालेका छन्। केहीले शान्ति–सुरक्षाका लागि आवश्यक कदम भएको बताएका छन् भने केहीले नागरिक स्वतन्त्रतामा अंकुश लगाइएको टिप्पणी गरेका छन्।
प्रमुख जिल्ला अधिकारीले सर्वसाधारणलाई अफवाहमा नलाग्न, सामाजिक सञ्जालमा उत्तेजक सामग्री नप्रसारण गर्न र प्रशासनसँग सहकार्य गर्न आग्रह गरेका छन्। आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।
वीरगञ्जको अवस्थाबारे सुरक्षा संयन्त्रले निरन्तर समीक्षा गरिरहेको र परिस्थिति सामान्य बन्दै गएपछि आदेश पुनरावलोकन गरिने प्रशासनले जनाएको छ।