फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–३ को राजनीतिक माहोल थप तातेको छ। यसैक्रममा पोखरीया नगरपालिका वडा नम्बर–२ को लमरीया र डामरापुरमा नेकपा एमालेले घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो।
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डे घरदैलो अभियानका क्रममा स्थानीयसँग प्रत्यक्ष संवादमा उत्रिएका थिए। उनले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आफ्नो भिजन प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले परिवर्तनको आवश्यकता औंल्याउँदै युवा नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखेका थिए। विशेषगरी युवापुस्तामाझ पाण्डेको सक्रियता र विकासकेन्द्रित एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया देखिएको छ।
नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा पाण्डेको पक्षमा समर्थन तिब्र बन्दै गएको दाबी गरिएको छ। मतदाताहरूले क्षेत्रको समृद्धि र स्थायित्वका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै रूपेश कुमार पाण्डेलाई विजयी गराउन प्रतिबद्धता व्यक्त गरेका थिए।
पर्सा–३ मा यसपटक युवा उम्मेदवारको उपस्थितिले चुनावी समीकरणमा नयाँ आयाम थपिएको छ। परम्परागत शक्ति संरचनालाई चुनौती दिँदै विकास र परिवर्तनको नारासहित मैदानमा उत्रिएका पाण्डेले घरदैलो अभियानलाई प्रभावकारी रूपमा अघि बढाएका छन।
निर्वाचन नजिकिँदै जाँदा पर्सा–३ मा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यसबीच एमाले उम्मेदवार पाण्डेको सक्रिय चुनावी अभियान र बढ्दो जनसमर्थनले क्षेत्रको चुनावी समीकरणमा अर्थपूर्ण प्रभाव पार्ने देखिएको छ।