राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति हरि पन्त ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू सहित जिल्लाका चारै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारहरू विजयी भएपछि मतदाता, शुभेच्छुक र पार्टी कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेका छन्।
पन्तले एक धन्यवाद तथा शुभकामना सन्देश जारी गर्दै पर्सा जिल्लावासीले देखाएको विश्वास र समर्थनप्रति हार्दिक आभार प्रकट गरेका हुन्। उनले पर्साका चारै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूको विजयलाई परिवर्तनको लहरको रूपमा व्याख्या गर्दै देशमा भ्रष्टाचार र कुशासन अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
सन्देशमा पन्तले भनेका छन्, “पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा आफू सहित जिल्लाका चारै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउनु भएका सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, पार्टीका नेता–कार्यकर्ता तथा परिवारका सदस्यहरू प्रति हार्दिक आभार प्रकट गर्दछु।”
उनले मतदाताहरूको साथ, सहयोग र मार्गदर्शनका कारण देशभर परिवर्तनको लहर आएको दाबी समेत गरेका छन्। “तपाईंहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामीले देशैभरि परिवर्तनको लहर ल्याउन सफल भएका छौँ,” पन्तले उल्लेख गरेका छन्।
पन्तका अनुसार आगामी दिनहरूमा आफू सहित पर्साका चारै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार, बेथिति र कुशासन अन्त्य गरी विधिको शासन स्थापना गर्ने जिम्मेवारी बहन गर्नेछन्। देशलाई प्रगतिको बाटोमा अगाडि बढाउने यात्रामा सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वाद आवश्यक रहने उनले बताएका छन्।
पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन्। पर्सा–१ बाट हरि पन्त, पर्सा–२ बाट सुशील कुमार कानु, पर्सा–३ बाट रमाकान्त चौरसिया र पर्सा–४ बाट टेक बहादुर शाक्य ऐतिहासिक मतका साथ निर्वाचित भएका छन्। समानुपातिक तर्फ पनि पर्सामा रास्वपा पहिलो पार्टी बनेको छ।
पर्सामा रास्वपाले हासिल गरेको उल्लेखनीय सफलतालाई राजनीतिक विश्लेषकहरूले परिवर्तनको सङ्केतका रूपमा व्याख्या गरेका छन्। यस विजयले स्थानीय स्तरमा पार्टीको प्रभाव विस्तार भएको तथा राष्ट्रिय स्तरमा भ्रष्टाचारविरुद्धको अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।