पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका पूर्वमन्त्री प्रदीप यादव ले आफ्नो चुनावी अभियानका क्रममा भएको खर्च सार्वजनिक गरेका छन्। नेपाल निर्वाचन आयोगको नियमअनुसार बुधबार जिल्ला निर्वाचन कार्यालय पर्सामा खर्च विवरण बुझाउँदै उनले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका हुन्।
यादवले आफ्नो निर्वाचन प्रतिनिधि जनत अन्सारीमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम खर्च विवरण पेश गरेका थिए। निर्वाचन आयोगको प्रावधानअनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि निश्चित समयभित्र आफ्नो सम्पूर्ण खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।
आयोगमा बुझाइएको विवरणअनुसार यादवले चुनावी अभियान सञ्चालनका क्रममा कुल १० लाख २४ हजार ९२५ रुपैयाँ खर्च गरेका छन्। खर्च विवरण हेर्दा प्रचार–प्रसारसँग सम्बन्धित सामग्री खरिद तथा प्रिन्टिङमा सबैभन्दा बढी रकम खर्च भएको देखिएको छ। सो शीर्षकमा मात्रै २ लाख ८४ हजार ७६० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
त्यसैगरी मतदाता नामावली खरिदका लागि ३ हजार रुपैयाँ, मनोनयन दर्ता प्रक्रियामा १० हजार रुपैयाँ, सवारीसाधन भाडामा १ लाख ९० हजार रुपैयाँ खर्च गरिएको छ। साथै गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालनमा ६४ हजार ९७५ रुपैयाँ खर्च भएको छ भने इन्धनमा १ लाख ५३ हजार ६४० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
अन्य प्रचार–प्रसार सामग्रीमा १ लाख ५२ हजार ५५० रुपैयाँ खर्च भएको छ भने कार्यालय सञ्चालन तथा प्रतिनिधि परिचालनमा ८६ हजार रुपैयाँ खर्च गरिएको छ। यसैगरी छापा तथा विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार–प्रसारका लागि २५ हजार रुपैयाँ खर्च गरिएको छ भने अन्य विविध शीर्षकमा ५५ हजार रुपैयाँ खर्च भएको यादवले जनाएका छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति हरि पन्तसँग पराजित भएका थिए। यसअघि भने यादव सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। निर्वाचन आयोगले उम्मेदवारलाई पारदर्शिता कायम राख्न चुनावी खर्चको विवरण सार्वजनिक गर्न अनिवार्य गरेको छ।