नारा मात्रै होइन, व्यवहारमै समाजसेवाको उदाहरण प्रस्तुत गर्दै ६९ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा पर्सामा आयोजित रक्तदान कार्यक्रमले मानवताको सन्देश फैलाएको छ। “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता एवं व्यवस्थापकहरूको क्षमता सहकारी संस्थामा एकरुपता” भन्ने मूल नारालाई आत्मसाथ गर्दै शुक्रबार माईस्थान मन्दिरको प्राङ्गणमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ९ महिला सहित ६१ जनाले रक्तदान गरेका छन्।
को–अपरेटिभ म्यानेजर्स क्लब पर्साको आयोजनामा तथा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमले सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई पुनः उजागर गरेको छ। कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह ले सहकारी संस्थाहरूले बचत तथा लगानीमै सीमित नभई समाजसेवामा पनि सक्रिय भूमिका निर्वाह गर्नु सकारात्मक संकेत भएको बताए। उनले रक्तदानलाई “जीवन दान” को रूपमा व्याख्या गर्दै यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गरे।
क्लबका अध्यक्ष चन्देश्वर प्रसाद चौतरिया को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले उत्साहजनक उपस्थिति जनाएका थिए। रक्तदान गर्नेहरूमा रवि भूषण श्रीवास्तव, अशोक कुमार, आरती सिंह, सुमित्रा, मुस्कान कुमारी, इन्दु रञ्जितकार, दीपिका श्रेष्ठ, इस्यु श्रेष्ठ, अमिता प्रधान, राजु लामा, सोनम श्रेष्ठ, नारायण सिंह, अनिल पटेल, अशोक चौधरी, आर्यन मण्डल लगायत रहेका छन्। क्लबका महासचिव प्रदीप लोहार का अनुसार, कार्यक्रममा महिला सहभागिता पनि उल्लेखनीय रहेको र यसले समावेशी सहकार्यको सन्देश दिएको छ।
कार्यक्रममा क्लबका पदाधिकारीहरू—उपाध्यक्ष रामबाबु चौधरी, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष किरण ठाकुर लगायतका साथै विभिन्न सहकारी संस्थाका सञ्चालक, कर्मचारी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। त्यसैगरी, रक्त सञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभ पाण्डेको नेतृत्वमा नितेश यादव, मिथिलेश शाह, सन्तोष पटेल, सन्नी यादव, राजेन्द्र भट्टराई लगायतको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो।