आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेटलाई लिएर देशभर चासो बढिरहेका बेला वीरगञ्जबाट सुरु गरिएको पूर्व–बजेट अन्तरक्रिया कार्यक्रमले आर्थिक बहसलाई नयाँ दिशा दिएको छ। वीरगञ्ज उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले ल्याउने आगामी बजेट “रूपान्तरणकारी र परिणाममुखी” हुने स्पष्ट सन्देश दिएका छन्।
उनले वर्तमान सरकारले प्रतिस्पर्धात्मक अर्थतन्त्र निर्माण, वैधानिक दायराभित्र वित्तीय स्वतन्त्रता सुनिश्चित र आर्थिक क्षेत्रमा देखिएको दण्डहीनताको अन्त्य गर्ने लक्ष्यसहित काम गरिरहेको बताए। “सुशासन हाम्रो पहिलो प्राथमिकता हो,” उनले जोड दिए, “शिक्षा, स्वास्थ्य, वित्तीय पहुँच र एकीकृत सामाजिक सुरक्षा प्रणालीमा सरकारको विशेष ध्यान रहनेछ।” अर्थमन्त्री वाग्लेले विशेषगरी मध्यम वर्गको सुरक्षालाई मजबुत बनाउने दिशामा सरकार केन्द्रित हुने उल्लेख गर्दै आर्थिक स्थायित्व र अवसर सिर्जनालाई प्राथमिकतामा राखिने बताए।
.jpeg)
राजनीतिक सन्दर्भ जोड्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र को लोकतन्त्र स्थापना तथा सामाजिक परिवर्तनमा योगदानको प्रशंसा गरे। साथै, जनताले आर्थिक समृद्धिको एजेन्डासहित राष्ट्रिय स्वतन्त्र पार्टी लाई दिएको म्यान्डेटलाई परिणाममा रूपान्तरण गर्ने जिम्मेवारी सरकारमाथि रहेको उनले स्मरण गराए। “जनताले दल मात्र होइन, नेतृत्वमै पुस्तान्तरण गरिसकेका छन्,” उनले भने, “अब त्यसको परिणाम देखाउन हामीमाथि दबाब पनि छ र जिम्मेवारी पनि।”
वीरगञ्जबाटै बजेट निर्माणको परामर्श प्रक्रिया सुरु गरिएको उल्लेख गर्दै उनले सबै माग सम्बोधन गर्न सम्भव नहुने यथार्थ पनि स्वीकार गरे। “राज्यले कर उठाएर शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगानी गर्नुपर्छ,” उनले भने, “तर नियत सफा राखेर सबैको चित्त बुझाउने प्रयासमा सरकार प्रतिबद्ध छ।”
कार्यक्रममा उद्योगी–व्यवसायीहरूले कर संरचना, भन्सार प्रक्रिया, विद्युत् आपूर्ति र पूर्वाधार विकाससम्बन्धी समस्याहरू उठाएका थिए। अर्थमन्त्री वाग्लेले ती मागहरू कानून निर्माण र संशोधन प्रक्रियामा समेटिने विश्वास दिलाए। साथै, सरकार ढिलो भयो जस्तो लागेमा उद्योगी–व्यवसायीलाई “झक्झक्याउन” आग्रह गर्दै उनले निजी क्षेत्रसँग सहकार्यको आवश्यकता औंल्याए।
पर्यटन प्रवर्द्धनलाई पनि प्राथमिकतामा राख्दै उनले ठूलो संख्यामा भारतीय पर्यटक भित्र्याउने वातावरण निर्माणमा सरकार लाग्ने बताए। भरपर्दो विद्युत् आपूर्ति, ठूला सडक आयोजनामा लगानी र सुशासनको प्रत्याभूति सरकारका प्रमुख एजेन्डा रहेको उनको भनाइ थियो। “हामीले थालेको सुधारको गति रोकिने छैन,” उनले दृढतापूर्वक भने, “सुशासन र आर्थिक अनुशासन स्थापित गरेरै छाड्छौँ।”
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजस्व सचिव भूपाल बराल, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री, भन्सार विभागका महानिर्देशक श्याम भण्डारी लगायत उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।