नागरिकको आधारभूत अधिकारप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एमनेस्टी इन्टरनेसनल ग्रुप–१६ को आयोजनामा वीरगञ्जस्थित घडीअर्वा पोखरी परिसरमा मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले स्थानीय तहमा मानव अधिकारबारे बुझाइ विस्तार गर्नुका साथै सरोकारवालाबीच संवाद बढाउने प्रयास गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै पर्सा क्षेत्र नम्बर–२ का सांसद सुशील कुमार साह कानुले मानव अधिकार संरक्षणलाई राज्य र समाज दुवैको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताएका छन्। उनले प्रत्येक नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु लोकतान्त्रिक व्यवस्थाको मूल आधार भएको उल्लेख गर्दै यस विषयमा आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
सांसद कानुले मानव अधिकार उल्लंघनका घटनालाई संसदमा प्रभावकारी रूपमा उठाउने र सरकारलाई आवश्यक खबरदारी गरिरहने स्पष्ट पारे। “मानव अधिकार केवल कानुनी विषय मात्र होइन, यो हाम्रो दैनिक व्यवहारसँग जोडिएको विषय हो,” उनले भने, “एकअर्काप्रति मानवीय व्यवहारको अभाव हुँदा अधिकार हनन हुने खतरा बढ्छ, त्यसैले सचेतना अत्यन्त आवश्यक छ।”
कार्यक्रम एमनेस्टी इन्टरनेसनल ग्रुप–१६ का अध्यक्ष रजनिस झाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वरिष्ठ सल्लाहकार राजेश जैन, बोर्ड सदस्यहरू निशान झा, नितिश कुमार अग्रवाल, समीक्षा घिमिरे, सचिव सुनिल महतो, सतिश अग्रवाल, सुरेश पार्क, सन्दिक्षा घिमिरेलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
अभिमुखीकरण सत्रमा मानव अधिकारका विभिन्न आयाम—व्यक्तिगत स्वतन्त्रता, समानता, न्यायमा पहुँच, तथा सामाजिक उत्तरदायित्व—बारे सहभागीहरूलाई विस्तृत जानकारी दिइएको थियो। सहभागीहरूले मानव अधिकार संरक्षणका चुनौती र स्थानीय स्तरमा गर्न सकिने पहलहरूबारे पनि छलफल गरेका थिए। कार्यक्रमले मानव अधिकारबारे जनस्तरमा बुझाइ मजबुत बनाउन सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।