श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले गृहमन्त्री सुधन गुरुङ को राजीनामा माग गरेका छन्। पछिल्लो समय गृहमन्त्री गुरुङ विभिन्न विवादमा तानिँदै गएको भन्दै उनले पदमा रहिरहनुभन्दा मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुने बताएका हुन्।
मंगलबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष राईले गृहमन्त्रीसँग सम्बन्धित नयाँ–नयाँ विवाद र प्रश्नहरू बारम्बार सार्वजनिक हुनुले सरकारको विश्वसनीयतामा असर पार्ने बताएका छन्। “गृहमन्त्रीबारे हप्तामा दुई–तीन पटक फरक–फरक किसिमका कुरा बाहिर आइरहेका छन्, यस्तो अवस्था राम्रो संकेत होइन,” उनले भने, “उहाँले स्वयं मार्ग प्रशस्त गरिदिँदा सरकार र पद दुवैको गरिमा जोगिन सक्छ।”
राईले आफूले उठाएको विषय व्यक्तिगत आक्षेप नभई सार्वजनिक चासो र उत्तरदायित्वसँग जोडिएको स्पष्ट पारे। उनले बारम्बार उठ्ने प्रश्नहरूले शासन प्रणालीप्रति नागरिकको विश्वास कमजोर बनाउनेतर्फ संकेत गर्दै यसप्रति गम्भीर हुन आग्रह गरे। “प्रश्न उठ्नु स्वाभाविक हो, तर निरन्तर एउटै व्यक्तिबारे विवाद आइरहनु राम्रो सन्देश होइन,” उनले थपे।
अध्यक्ष राईले सञ्चारमाध्यमसमक्ष बोल्दै आफूले यस्ता विषयमा मौन बस्दा “प्रश्नबाट भाग्यो” भन्ने टिप्पणी आउन सक्ने भन्दै सार्वजनिक रूपमा धारणा राख्न बाध्य भएको पनि उल्लेख गरे। “विषय आफैंमा मुख्य होइन, तर प्रश्नहरू उठिरहेका छन्। ती प्रश्नहरूको सम्बोधन आवश्यक छ,” उनले भने।
यसै क्रममा उनले सरकारलाई सुशासन कायम गर्नेतर्फ गम्भीर ध्यान दिन पनि सचेत गराए। भ्रष्टाचार, अपारदर्शिता र अनियमितताका विषयमा शून्य सहनशीलता अपनाउनुपर्ने भन्दै उनले सरकारको प्राथमिकता जनताको विश्वास जित्ने दिशामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।
राजनीतिक वृत्तमा गृहमन्त्री गुरुङमाथि उठेका आरोप र विवादबारे विभिन्न धारणा सार्वजनिक भइरहेका बेला अध्यक्ष राईको यो अभिव्यक्ति थप चर्चाको विषय बनेको छ। यद्यपि गृहमन्त्री गुरुङले भने यस्ता आरोपबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
यस घटनाक्रमले सरकारभित्र र बाहिर दुवै तहमा उत्तरदायित्व, पारदर्शिता र नैतिकताको विषयलाई पुनः केन्द्रमा ल्याएको छ। अब गृहमन्त्री गुरुङले उठेका प्रश्नहरूबारे स्पष्ट धारणा दिने वा अन्य कदम चाल्ने भन्ने विषयमा चासो बढ्दै गएको छ।