पारसनाथ मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा अन्ततः स्थानीय तह र सम्बन्धित निकाय सक्रिय बनेका छन्। सखुवा प्रसौनी गाउँपालिका वडा नं। ५ अन्तर्गत पर्ने उक्त मन्दिरको जग्गामा अतिक्रमण गरी बनाइएका पक्की घर तथा टहराहरू हटाउन आज संयुक्त रूपमा डोजर चलाइएको हो।
गाउँपालिका र गुठी संस्थान को समन्वयमा गरिएको यस कारबाही अन्तर्गत पारसनाथ महादेव मन्दिरसँग सम्बन्धित मठको करिब ५ बिघा १७ कट्ठा १४ धुर क्षेत्रफलको जग्गा खाली गराउने प्रयास सुरु गरिएको छ। साविक वन गाउँ विकास समिति वडा नं। २ स्थित कित्ता नम्बर २७५ मा पर्ने उक्त जग्गामा करिब ४५ जनाले वर्षौंदेखि अतिक्रमण गरी पक्की संरचना निर्माण गरेका थिए।
स्थानीय तहका अनुसार, यसअघि पटक–पटक उक्त जग्गा खाली गराउन निवेदन दिइए पनि ठोस पहल हुन सकेको थिएन। अन्ततः एक स्थानीय बासिन्दाले काठमाडौँस्थित गुठी संस्थानमा लिखित उजुरी दिएपछि प्रक्रिया अघि बढाइएको हो। त्यसपछि गाउँपालिका र गुठी संस्थानको संयुक्त टोलीले अतिक्रमण हटाउने निर्णय गर्दै आजबाट डोजर प्रयोग गरी संरचना भत्काउने कार्य थालेको हो।
हाल पनि साविक गाविसको वडा नं. १ अन्तर्गत कित्ता नम्बर १ मा रहेको ९ कठ्ठा ४ धुर तथा कित्ता नम्बर २ मा रहेको १५ कठ्ठा १७ धुर जग्गा केही व्यक्तिहरूले अतिक्रमण गरिरहेको स्थानीयले बताएका छन्। ती क्षेत्रहरूमा पनि छिट्टै कारबाही अघि बढ्ने संकेत गरिएको छ।

डोजर चलेसँगै अतिक्रमण गरी बनाइएका घरधनीहरूमा तनाव बढेको छ। वर्षौंदेखि उक्त पोखरी तथा मन्दिर क्षेत्र प्रयोग गर्दै आएका व्यक्तिहरू अहिले समस्यामा परेका छन् भने आफ्ना संरचना भत्किने निश्चित देखिएपछि असन्तुष्टि व्यक्त गर्न थालेका छन्।
गाउँपालिकाले सार्वजनिक तथा धार्मिक सम्पत्तिको संरक्षण आफ्नो प्राथमिकता भएको बताउँदै अतिक्रमणमुक्त अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, गुठी संस्थानले पनि मठ–मन्दिरका सम्पत्तिको संरक्षणका लागि यस्ता कदम आवश्यक भएको स्पष्ट पारेको छ।