प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिले काठमाडौं उपत्यकाभित्र रहेका सुकुम्वासी बस्तीहरूको अवस्था प्रत्यक्ष अवलोकन गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले पछिल्लो समय सरकारद्वारा हटाइएका सुकुम्वासी बस्तीका बासिन्दाहरूको समस्यालाई नजिकबाट बुझ्न र उनीहरूको पीडाको सुनुवाइ गर्न यस्तो निर्णय गरेको हो।
समिति सभापति समीक्षा बास्कोटाले बैठकपछि जानकारी दिँदै एक साताभित्रै काठमाडौं उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीहरूमा पुगेर अध्ययन तथा अनुगमन गरिने बताइन्। उनका अनुसार, सुकुम्वासी बस्तीको वास्तविक अवस्था, त्यहाँका नागरिकले भोगिरहेका समस्या तथा राज्यका कदमहरूले पारेको प्रभावबारे प्रत्यक्ष जानकारी लिन अनुगमन आवश्यक ठहरिएको हो।
“सुकुम्वासी बस्तीको विषयमा वास्तविक अवस्था के छ भन्ने बुझ्न हामी स्थलगत अध्ययनमा जान आवश्यक देखिन्छ,” सभापति बास्कोटाले भनिन्, “त्यसका लागि यही हप्ताभित्र काठमाडौं उपत्यकाभित्र रहेका बस्तीहरूमा अनुगमन गर्ने तयारी गरेका छौं।”
हालै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीहरू हटाइएपछि प्रभावित स्थानीय बासिन्दाहरूले आवास, जीविकोपार्जन तथा आधारभूत आवश्यकतामा समस्या भोग्दै आएको गुनासो सार्वजनिक हुँदै आएको छ। यसै सन्दर्भमा संसदीय समितिले प्रत्यक्ष रूपमा उनीहरूको अवस्था बुझ्न अग्रसरता देखाएको हो।
समितिले अनुगमनका क्रममा प्रभावित परिवारसँग प्रत्यक्ष छलफल गर्ने, उनीहरूको गुनासा सुन्ने तथा सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन समाधानका उपाय खोज्ने जनाएको छ। यस्ता बस्ती हटाउने क्रममा अपनाइएका प्रक्रिया, वैकल्पिक व्यवस्थाको अवस्था तथा मानवअधिकारको पक्षसमेत अध्ययनको मुख्य विषय रहने बताइएको छ।
यद्यपि, समितिले काठमाडौं उपत्यकाबाहिरका सुकुम्वासी बस्तीहरूको अध्ययन तत्काल गर्न नसक्ने जनाएको छ। सभापति बास्कोटाका अनुसार बजेट अभावका कारण हाललाई उपत्यकाभित्रै सीमित भएर अनुगमन गरिनेछ। “बाहिर जाने विषयमा बजेटको पनि प्रश्न जोडिएको छ, त्यसैले अहिलेका लागि काठमाडौं उपत्यकाभित्रकै अध्ययनमा केन्द्रित हुन्छौं,” उनले स्पष्ट पारिन्।
समितिको यस निर्णयलाई सुकुम्वासी समस्या समाधानतर्फ एक सकारात्मक पहलका रूपमा हेरिएको छ। दीर्घकालदेखि समाधान हुन नसकेको सुकुम्वासी व्यवस्थापनको विषयमा राज्यका निकायहरूबीच समन्वयको अभाव देखिँदै आएको अवस्थामा संसदीय सक्रियताले नीति निर्माणमा ठोस आधार तयार पार्ने अपेक्षा गरिएको छ।