आमा नेपाल फाउण्डेशनको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित नगवा पोखरी क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। “सफा र हरियाली वीरगञ्जका लागि हामी सबै” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त कार्यक्रम २०८३ वैशाख २४ गते सफलतापूर्वक सम्पन्न भएको फाउण्डेशनले जनाएको छ।
कार्यक्रममा आमा नेपाल फाउण्डेशनका पदाधिकारी, स्वयंसेवक, स्थानीय समुदाय, विद्यालय तथा कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको समेत विशेष उपस्थिति रहेको जनाइएको छ।
सहभागी प्रमुख व्यक्तित्वहरूमा एसियन टेक्निकल इन्स्टिच्युट अफ हेल्थ साइन्सका निर्देशक सन्जु शाह, सोही संस्थाकी नर्सिङ चिफ मोनिका जयसवाल, काव्या एकेडेमीका निर्देशक हरिन्द्र कुशवाहा, एपेक्स इन्टरनेशनल इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल मुकेश चौरसिया, सशस्त्र प्रहरी सीमा सुरक्षा बलका सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार ठाकुर तथा इलाका प्रहरी कार्यालय नगवाका इन्चार्ज प्रहरी नायब निरीक्षक सुनिल कुमार झा लगायत रहेका थिए।
फाउण्डेशनका अनुसार कार्यक्रममा १५० भन्दा बढी विद्यार्थी, स्थानीय युवा तथा समुदायका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सार्वजनिक स्थान, सडक किनार तथा पोखरी वरपर सरसफाइ गरेका थिए। कार्यक्रममार्फत फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनीकरण तथा शून्य फोहोर ९जिरो वेस्ट० जीवनशैली सम्बन्धी जनचेतनामूलक सन्देश समेत प्रवाह गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य उद्देश्य वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु, समुदायमा सरसफाइ संस्कारको विकास गर्नु, शून्य फोहोर अवधारणालाई प्रवर्द्धन गर्नु तथा युवाहरूलाई सामाजिक उत्तरदायित्वप्रति सक्रिय बनाउनु रहेको फाउण्डेशनले उल्लेख गरेको छ। आमा नेपाल फाउण्डेशनकी अध्यक्ष प्रमिता मानन्धरले यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताएकी छन्।