जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय आर्थिक गणना–२०८२ लाई सफल बनाउन जिल्लाका उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थालाई पूर्ण सहयोग गर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी सार्वजनिक सूचनामा आर्थिक गणनालाई राष्ट्रको आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्ने महत्वपूर्ण अभियानका रूपमा उल्लेख गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद घिमिरेद्वारा हस्ताक्षरित सूचनामा नेपाल सरकार, राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गर्न लागेको आर्थिक गणना–२०८२ अन्तर्गत जिल्लाभर रहेका उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, बैंक तथा वित्तीय संस्था, होटल, यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा लगायतका आर्थिक गतिविधिसँग सम्बन्धित सबै निकायको तथ्यांक संकलन गरिने जानकारी दिइएको छ।

सूचनाअनुसार आर्थिक गणनाका क्रममा खटिने गणक तथा सुपरिवेक्षकहरू घरदैलोमै पुगेर व्यवसायसँग सम्बन्धित विवरण संकलन गर्नेछन्। यसका लागि व्यवसायी, उद्योगी तथा सेवा प्रदायकहरूले सही र यथार्थ विवरण उपलब्ध गराई सहयोग गर्न प्रशासनले अनुरोध गरेको छ। कार्यालयले संकलित विवरण गोप्य राखिने र त्यसलाई केवल सरकारी योजना निर्माण, आर्थिक नीति तर्जुमा तथा विकास कार्यक्रमका लागि प्रयोग गरिने स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालयले आर्थिक गणना मुलुकको आर्थिक संरचना बुझ्ने महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसबाट उद्योग, व्यापार, रोजगारी, लगानी तथा सेवा क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न सहज हुने जनाएको छ। आर्थिक गणनाबाट प्राप्त तथ्यांकले भविष्यमा विकास निर्माण, पूर्वाधार विस्तार, रोजगार सिर्जना तथा स्थानीय आर्थिक नीति निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
प्रशासनले सबै उद्योग, प्रतिष्ठान, पसल तथा सेवा केन्द्रहरूलाई गणनाका क्रममा सही विवरण दिन, गणकलाई आवश्यक जानकारी उपलब्ध गराउन तथा गणना कार्यलाई सहज वातावरण प्रदान गर्न आग्रह गरेको छ। सूचनामा कुनै पनि व्यवसाय वा संस्थाले झुट्टा विवरण नदिन तथा गणनामा अवरोध नगर्न पनि सचेत गराइएको छ।
राष्ट्रिय आर्थिक गणना–२०८२ लाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तह, उद्योग वाणिज्य संघ, सहकारी संस्था, वित्तीय संस्था तथा नागरिक समाजसँग समन्वय गरिने जनाइएको छ। प्रशासनले आर्थिक गणना सफल भएमा जिल्लाको समग्र आर्थिक अवस्थाको स्पष्ट चित्र प्राप्त हुने र त्यसले विकास योजनालाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।