वीरगञ्ज महानगरपालिका–पिपरास्थित सिद्धार्थ माध्यमिक विद्यालय मा बुधबार बिहान भएको एक दुर्घटनाले सामुदायिक विद्यालयहरूको भौतिक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। कक्षाकोठामा जडान गरिएको पंखा अचानक खस्दा तीन जना विद्यार्थी घाइते भएका हुन्।
विद्यालयमा बिहानको सिफ्ट सञ्चालन भइरहेको समयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूमाथि चलिरहेको पंखा खसेको थियो। घटनामा अमन पण्डित र आर्यन पटेल गम्भीर रूपमा घाइते भएका छन् भने अर्का एक विद्यार्थीलाई सामान्य चोट लागेको विद्यालय प्रशासनले जनाएको छ।
प्रधानाध्यापक विनोद मेहताका अनुसार बिहान करिब ६ः३९ बजे अचानक पंखा खसेर डेस्कमा ठोक्किँदै विद्यार्थीमाथि बजारिएको थियो। घटना लगत्तै कक्षाकोठामा केहीबेर अफरातफरीको अवस्था सिर्जना भएको थियो। त्यसबेला शिक्षक कक्षामै उपस्थित रहेकाले घाइते विद्यार्थीहरूको तत्काल उद्धार गरिएको विद्यालयले जनाएको छ।
दुर्घटनामा अमन पण्डितको काँधमा पंखा खस्दा ब्लेडले निधार र आँखामा चोट पुर्याएको छ। यस्तै, आर्यन पटेलको गाला र ओठमा चोट लागेको बताइएको छ। घाइतेहरूलाई तत्काल मोटरसाइकलमार्फत नारायणी अस्पताल लगेर उपचार गरिएको थियो। उपचारपछि उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका अनुसार अमनको आँखामा चोट लागेकाले थप परीक्षणसमेत गरिएको छ। हाल सबै विद्यार्थी खतरा मुक्त रहेको प्रधानाध्यापक मेहताले जानकारी दिए।
विद्यालय प्रशासनले गर्मी मौसम सुरु हुनुअघि नै पंखा तथा वायरिङ जाँच गरिएको दाबी गरे पनि पुरानो पंखा भएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटनापछि प्राविधिक जाँचका लागि मिस्त्री बोलाइने र सबै कक्षाकोठाका पंखा पुनः परीक्षण गरिने विद्यालयले जनाएको छ।
यस घटनापछि वीरगञ्जका सामुदायिक विद्यालयहरूमा जडान गरिएका पंखा, वायरिङ तथा अन्य विद्युतीय संरचनाको अवस्था कस्तो छ भन्ने विषयमा व्यापक चासो बढेको छ। अभिभावकहरूले विद्यालयहरूमा नियमित प्राविधिक निरीक्षण गर्न तथा सम्भावित जोखिम न्यूनीकरणका लागि वीरगञ्ज महानगरपालिका गम्भीर बन्नुपर्ने माग गरेका छन्।