बक्र इद (इद/उल/अजहा) पर्व सँगै नेपाल सरकारको लगातार चार दिन सार्वजनिक बिदा परेपछि देशभर विद्यालय, सरकारी कार्यालय, बैंक तथा विभिन्न संघसंस्थाको नियमित कामकाज प्रभावित भएको छ। गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार मुस्लिम आयोगको सिफारिसमा जेठ १४ गते शुक्रबार बक्र इद पर्व परेको जानकारी प्राप्त भएपछि सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
यसअघि शनिबारको नियमित बिदा, त्यसलगत्तै आइतबार र सोमबार समेत विभिन्न कारणले सार्वजनिक बिदा परेपछि देशभर लगातार चार दिन लामो बिदा परेको हो। लामो बिदाका कारण सरकारी सेवा प्रवाहदेखि शैक्षिक गतिविधिसम्म प्रभावित बनेका छन् भने निजी क्षेत्रका धेरै कार्यालयहरू पनि बन्द रहेका छन्।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बक्र इद मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक पर्व भएकाले देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ। मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै पर्वलाई शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा मनाउन आग्रह समेत गरेको छ।
लगातारको बिदाले विशेषगरी विद्यालय तथा कलेजहरूको पठनपाठन पूर्ण रूपमा प्रभावित भएको छ। धेरै विद्यालयले यस अवधिमा परीक्षा तथा अतिरिक्त कक्षासमेत स्थगित गरेका छन्। अभिभावकहरू समेत लामो बिदाका कारण बालबालिकाको अध्ययनमा असर पर्ने चिन्ता व्यक्त गरिरहेका छन्।
त्यस्तै, सरकारी कार्यालय बन्द हुँदा नागरिकले सेवा लिन समस्या भोग्नुपरेको छ। मालपोत, यातायात, जिल्ला प्रशासन, बैंकिङ सेवा लगायतका क्षेत्रमा अत्यावश्यक काम लिएर आएका सेवाग्राही फर्किन बाध्य भएका छन्। केही निजी बैंक तथा वित्तीय संस्थाले सीमित सेवा सञ्चालन गरे पनि अधिकांश कार्यालय बन्द रहे।
सरकारको निर्णयप्रति कतिपयले धार्मिक सहिष्णुता र सांस्कृतिक सम्मानको दृष्टिकोणबाट सकारात्मक प्रतिक्रिया दिएका छन् भने केहीले पटक–पटकको लामो बिदाले प्रशासनिक तथा आर्थिक गतिविधिमा असर पर्ने टिप्पणी गरेका छन्।