मानवसेवा आश्रम वीरगञ्ज शाखाले आज आफ्नो ९औँ वार्षिक उत्सव समारोह विविध कार्यक्रमका साथ मनाएको छ। २०७४ साल जेठ १५ गते नारायणी अस्पतालबाट शंकर नाम गरेका एक सहयोगापेक्षी व्यक्तिको उद्धार गर्दै औपचारिक रूपमा स्थापना भएको आश्रमले नौ वर्ष पूरा गरेको अवसरमा संस्थाले आफ्नो सेवा यात्रा स्मरण गरेको हो।
मानवसेवा आश्रम वीरगञ्जको प्रारम्भिक उद्धार अभियानमा संस्थापक देवेश गुप्ता, तत्कालीन प्रमुख जिल्ला अधिकारी केशव प्रसाद घिमिरे, डा। दीपक शाक्य, मीनाक्षी गुप्ता, रहबर अन्सारी, उषा शाह, कनिका कौशिक, मायामितु न्यौपाने, मुकेश खेतान, कमल चौगाईं, युवराज केसरी, आशिष श्रेष्ठ, रिशव अग्रवाल, संगीता शाक्य, लाल बहादुर गुरुङ्ग, विजय ठाकुर तथा अंशु कार्की लगायतको सक्रिय सहभागिता रहेको थियो।
स्थापनाकालदेखि २०७९ सालसम्म वीरगञ्ज–९ स्थित इन्डियन एम्बेसी पछाडिको भाडाको घरबाट सञ्चालन हुँदै आएको आश्रम हाल वीरगञ्ज–२५ श्रीसियामा व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ। प्रदेश सांसद रमेश पटेलको पहलमा वृद्धाश्रमका लागि निर्माण गरिएको भवनमा आश्रम स्थानान्तरण गरिएको हो। साथै वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज–१५ लक्ष्मणवामा उपलब्ध गराएको १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न भवन निर्माण कार्यसमेत सुरु भइसकेको आश्रमले जनाएको छ।
विशुद्ध गैरनाफामूलक सामाजिक संस्थाको रूपमा स्थापित मानवसेवा आश्रमले २०६९ सालदेखि देशभर मानव सेवाको क्षेत्रमा काम गर्दै आएको छ। २०७३ साल साउन २ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भएको संस्थाले सडकपेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलन गर्दै आएको छ।
हाल मानवसेवा आश्रमले “घरपरिवारविहीन, बेसहारा तथा सहयोगापेक्षी मानवमुक्त नेपाल निर्माण” गर्ने उद्देश्यसहित सातै प्रदेशका २२ जिल्लामा ३४ वटा सेवाकेन्द्र सञ्चालन गरिरहेको जनाएको छ।
मानवसेवा आश्रम वीरगञ्ज शाखाका अनुसार स्थापना कालदेखि हालसम्म ३४२ जनाको उद्धार गरिएको छ। तीमध्ये १५९ जनाको पारिवारिक पुनर्मिलन गरिएको, ३३ जनाको सामुदायिक पुनर्स्थापना गरिएको तथा ६५ जनालाई अन्य शाखामा स्थानान्तरण गरिएको जानकारी दिइएको छ। यस्तै ४१ जनाले आश्रममै अन्तिम श्वास लिएको उल्लेख गरिएको छ। हाल श्रीसिया स्थित आश्रममा ४४ जना महिला, पुरुष तथा बालबालिका आश्रित रहेका छन्।
आश्रमका संस्थापक देवेश गुप्ताले मानवसेवा आश्रम वीरगञ्ज सम्पूर्ण पर्सा–बारावासीको माया, विश्वास र सहयोगबाट सञ्चालन भइरहेको बताउनुभयो। उहाँले आश्रम कुनै एक व्यक्ति वा दाताको भरमा नभई समाजका सबै वर्गको सहयोगबाट अघि बढिरहेको उल्लेख गर्नुभयो।
“बिहान–बेलुका मजदुरी गरेर गुजारा चलाउने श्रमिकदेखि उद्योगपति, व्यापारी, कर्मचारी, विद्यार्थी र गृहिणीसम्म सबैले आफ्नो क्षमता अनुसार साथ र सहयोग गरिरहनुभएको छ,” उहाँले भन्नुभयो, “पर्सा–बारावासीको माया, विश्वास र साथ बिना यो ९ वर्षको यात्रा सम्भव हुने थिएन।”
वार्षिकोत्सवको अवसरमा आश्रम परिवारले विगत नौ वर्षदेखि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्दै आएका सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा वीरगञ्जवासीप्रति आभार व्यक्त गरेको छ।
“मानवता नै सबैभन्दा ठूलो धर्म हो,” भन्ने सन्देशसहित आश्रमले आगामी दिनमा पनि मानव सेवाको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।