सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्दै २५ प्रकारका औषधि देशभित्रै उत्पादन गर्न सक्ने क्षमता विकास गर्ने घोषणा गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै डा। स्वर्णिम बाग्ले ले स्वदेशी उत्पादन वृद्धि, स्वास्थ्य क्षेत्रको आत्मनिर्भरता तथा नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यस्तो योजना अघि सारिएको बताउनुभयो।
अर्थमन्त्री बाग्लेले नेपालमा औषधिको आयातमा ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको उल्लेख गर्दै अब चरणबद्ध रूपमा स्वदेशी औषधि उद्योगलाई प्रविधि, लगानी र नीतिगत सहुलियत प्रदान गरिने जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले अत्यावश्यक औषधिहरूको उत्पादन देशभित्रै विस्तार गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै औषधि उद्योगको क्षमता अभिवृद्धिमा जोड दिनेछ।
सरकारले घोषणा गरेको योजनाअनुसार आगामी केही वर्षभित्र कम्तीमा २५ प्रकारका आधारभूत तथा अत्यावश्यक औषधि स्वदेशी कम्पनीमार्फत उत्पादन गर्न सकिने वातावरण तयार गरिनेछ। यसबाट औषधिको आयात निर्भरता घट्नुका साथै स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता बढ्ने विश्वास सरकारले लिएको छ।
बजेटमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै अर्थमन्त्री बाग्लेले गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउन विभिन्न सुधारात्मक कार्यक्रम अघि सारिएको बताउनुभयो। सरकारी अस्पतालहरूको सेवा विस्तार, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, विशेषज्ञ सेवा विस्तार तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच बढाउने कार्यक्रमलाई समेत बजेटमा समेटिएको छ।
यसैगरी सरकारले खानेपानी तथा सरसफाइ क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको जनाएको छ। अर्थमन्त्री बाग्लेले आगामी पाँच वर्षभित्र देशभरका नागरिकलाई २४सै घण्टा स्वच्छ पिउने पानी उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी दिनुभयो। उहाँले सुरक्षित खानेपानी नागरिकको आधारभूत अधिकार भएकाले खानेपानी आयोजनाहरूलाई तीव्र गतिमा अघि बढाइने बताउनुभयो।
सरकारले सहरी तथा ग्रामीण दुवै क्षेत्रमा खानेपानी पूर्वाधार विस्तार, पुराना प्रणालीको स्तरोन्नति, नयाँ प्रशोधन केन्द्र निर्माण तथा पाइपलाइन व्यवस्थापनमा लगानी बढाउने योजना पनि सार्वजनिक गरेको छ। विशेषगरी खानेपानी अभाव झेलिरहेका क्षेत्रहरूलाई प्राथमिकतामा राखी दीर्घकालीन समाधानका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।