विश्व धुम्रपानरहित दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र पर्साले आयोजना गरेको विचार गोष्ठी तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। समाजमा बढ्दो धुम्रपान तथा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले युवापुस्तालाई कुलतबाट जोगाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र पर्साकी क्षेत्रीय सञ्चालिका रविना दिदीको सभापतित्व तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धुम्रपान र लागूऔषधका कारण समाजमा देखिएका चुनौतीबारे गम्भीर छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रहरी निरीक्षक सुवेदीले नेपालमा धुम्रपान तथा लागूऔषध सेवनका कारण हुने मृत्युको संख्या चिन्ताजनक रहेको उल्लेख गर्दै यसको रोकथामका लागि प्रहरी प्रशासन विभिन्न सामाजिक तथा आध्यात्मिक संस्थासँग सहकार्य गर्न तयार रहेको बताउनुभयो। उहाँले पछिल्लो समय युवापुस्तामा कुलतको प्रभाव बढ्दै गएको भन्दै अभिभावकहरूलाई आफ्ना छोराछोरीको गतिविधिप्रति सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो।
“धेरै युवा धुम्रपान, मद्यपान र लागूऔषधजस्ता कुलततर्फ आकर्षित भइरहेका छन्। अभिभावकले समयमै निगरानी र मार्गदर्शन नगरे पछि उनीहरूलाई कुलतबाट मुक्त गराउन निकै कठिन हुन्छ,” प्रहरी निरीक्षक सुवेदीले भन्नुभयो। उहाँले समाजमा स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणका लागि सबै पक्षले संयुक्त रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा बोल्दै इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईंले धुम्रपान तथा लागूऔषधविरुद्धका यस्ता जनचेतनामूलक कार्यक्रम विद्यालय तथा क्याम्पस स्तरमा नियमित रूपमा सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले विशेषगरी क्याम्पस तहका विद्यार्थीहरूमा चुरोट तथा अन्य कुलतको प्रभाव बढ्दै गएको भन्दै प्रारम्भिक चरणमै रोकथामका प्रयासहरू प्रभावकारी हुनुपर्ने बताउनुभयो।

उहाँले युवालाई सकारात्मक सोच, नैतिक शिक्षा तथा सामाजिक उत्तरदायित्वतर्फ उन्मुख गराउन विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
कार्यक्रममा रेनु दिदी, सन्जु दिदी, अरुण भाइ, अजय भाइलगायतले धुम्रपान तथा लागूऔषधका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावबारे आफ्ना धारणा व्यक्त गरेका थिए। वक्ताहरूले स्वस्थ जीवनशैली अपनाउन, आत्मअनुशासन बढाउन तथा आध्यात्मिक चेतनाको विकास गर्न सके कुलतबाट टाढा रहन सहज हुने बताएका थिए।
कार्यक्रमको स्वागत मन्तव्य बेली दिदीले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण गोवर्धन भाइले गर्नुभएको थियो। सहभागीहरूले विश्व धुम्रपानरहित दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमले युवापुस्तामा बढ्दो धुम्रपान तथा लागूऔषध दुर्व्यसनविरुद्ध सामूहिक सचेतना फैलाउन महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ।