भारत सरकारको आर्थिक सहयोगमा रौतहटको राजदेवी नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालयको विद्यालय तथा पुस्तकालय भवन निर्माणका लागि मंगलबार शिलान्यास गरिएको छ।
विद्यालय भवन निर्माण परियोजनाको शिलान्यास भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीणा र राजदेवी नगरपालिकाका मेयर भिखारी प्रसाद यादवले संयुक्त रूपमा गरेका हुन्।
.jpeg)
भारत सरकारको २ करोड ८४ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत कार्यान्वयन गरिने जनाइएको छ। परियोजना राजदेवी नगरपालिकामार्फत सञ्चालन हुनेछ।
निर्माण हुने नयाँ भवन दुई तले हुनेछ, जसमा आठवटा कक्षाकोठा, सिँढी आवरण, छात्र तथा छात्राका लागि छुट्टाछुट्टै शौचालय, सेप्टिक ट्याङ्की, सोकपिट, ट्युबवेल, सरसफाइ तथा विद्युतीय संरचना लगायतका आवश्यक पूर्वाधार समावेश हुनेछन्।
शिलान्यास कार्यक्रममा राजदेवी नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले शिक्षा क्षेत्रको विकासका लागि भारत सरकारले प्रदान गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए।

महावाणिज्य दूतावासका अनुसार नेपाल र भारतबीच विकास साझेदारी अन्तर्गत शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाले स्थानीय स्तरमा शिक्षा र सामुदायिक विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गुणस्तरीय तथा सुरक्षित शैक्षिक वातावरण प्राप्त गर्ने अपेक्षा गरिएको छ।