विश्व साइकल दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगञ्ज (नेपाल) ले वीरगञ्ज साइकलिङ क्लबको सहकार्यमा बुधबार वीरगञ्जमा विशेष साइकल र्याली आयोजना गरेको छ।

महावाणिज्यदूत श्री देवी सहाय मीनाले महावाणिज्य दूतावास परिसरबाट हरियो झण्डा देखाएर र्यालीको शुभारम्भ गर्नुभयो। र्याली घण्टाघर, माईस्थान, आदर्शनगर तथा छपकैयास्थित भारत–नेपाल मैत्रीको प्रतीकका रूपमा रहेको शंकराचार्य गेट हुँदै पुनः महावाणिज्य दूतावासमा पुगेर सम्पन्न भएको थियो।

र्यालीमा स्थानीय व्यवसायी, वीरगञ्ज उद्योग वाणिज्य संघका सदस्य, नेपाल युवा उद्यमी मञ्च (एफएनसीसीआई) वीरगञ्ज शाखा, वीरगञ्ज साइकलिङ क्लबका सदस्य, नागरिक समाजका प्रतिनिधि, महावाणिज्य दूतावासका अधिकारी तथा कर्मचारीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
समापन कार्यक्रममा महावाणिज्यदूत मीनाले विश्व साइकल दिवसको महत्वबारे प्रकाश पार्दै साइकललाई वातावरणमैत्री, किफायती तथा दिगो यातायातको माध्यमका रूपमा अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले नियमित साइकल चलाउँदा स्वास्थ्य र तन्दुरुस्तीमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो।
उहाँले यस्ता कार्यक्रमहरूले भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमले स्वस्थ जीवनशैली, हरित वातावरण तथा दिगो यातायात प्रवर्द्धनप्रति भारत र नेपालको साझा प्रतिबद्धतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।