चलचित्र पत्रकारितामा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित चलचित्र पत्रकार संघ नेपालले राष्ट्रियस्तरको फिचर लेखन प्रतियोगिता घोषणा गरेको छ। ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ नाम दिइएको उक्त प्रतियोगितामार्फत संघले गुणस्तरीय चलचित्र पत्रकारिता र अनुसन्धानमूलक लेखनलाई थप सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ।
संघले जारी गरेको सार्वजनिक आह्वानअनुसार चलचित्र पत्रकारहरूले चलचित्र, गीत–संगीत, कला, साहित्य तथा रंगमञ्चसँग सम्बन्धित फिचर स्टोरी, आर्टिकल वा फिल्म समीक्षा प्रतियोगिताका लागि पेश गर्न सक्नेछन्। इच्छुक सहभागीले आफ्ना सामग्री २०८३ असोज २३ गतेभित्र संघले तोकेको इमेल ठेगानामा पठाउनुपर्नेछ।
प्रतियोगिताका लागि पठाइने सामग्री न्यूनतम १ हजार १ सय शब्द र अधिकतम १ हजार ९ सय शब्दको हुनुपर्ने व्यवस्था गरिएको छ। प्राप्त सामग्रीमध्ये छनोट समितिले उत्कृष्ट पाँच रचना चयन गर्नेछ।
प्रतियोगितामा प्रथम हुने स्रष्टाले २० हजार रुपैयाँ, द्वितीयले १५ हजार रुपैयाँ र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै दुई जना सान्त्वना विजेतालाई जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ।
संघका अनुसार प्रतियोगितामा सहभागी हुने सामग्री मौलिक, अप्रकाशित तथा लेखक स्वयंको सिर्जना हुनुपर्नेछ। संघका सदस्यहरूका साथै मौलिक लेखनलाई विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ।
संघका महासचिव गोपीकृष्ण चापागाईं ले चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि र सिर्जनशील लेखन संस्कृतिको विकासका लागि आयोजना गरिएको प्रतियोगितामा सक्रिय सहभागिता जनाउन सम्पूर्ण चलचित्र पत्रकारलाई आग्रह गरेका छन्। प्रतियोगिताले नेपाली चलचित्र पत्रकारितामा नयाँ सोच, विश्लेषण र अनुसन्धानमूलक लेखनलाई थप ऊर्जा दिने विश्वास संघले व्यक्त गरेको छ।