राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पर्साको प्रथम जिल्ला अधिवेशन अन्तर्गत जिल्ला सभापति पदका लागि दुई प्रभावशाली नेताबीच प्रतिस्पर्धा हुने भएको छ। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्त र पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील साह कानु सभापति पदका प्रमुख दाबेदारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
जिल्ला अधिवेशनका क्रममा प्रतिनिधि नामावली तथा निर्वाचन प्रक्रियालाई लिएर उत्पन्न विवादका कारण शनिबार अधिवेशन स्थगित भएको थियो। विवाद चर्किँदा अधिवेशनस्थलमा तनावको अवस्था समेत सिर्जना भएको थियो। त्यसपछि पार्टीको केन्द्रीय नेतृत्वले हस्तक्षेप गर्दै समाधानको पहल गरेको थियो।
काठमाडौँबाट खटिएका पार्टीका संगठन विभाग सचिव शङ्कर श्रेष्ठको उपस्थितिमा विभिन्न पक्षबीच छलफल भएपछि विवाद समाधानतर्फ पुगेको र अधिवेशनलाई पुनः सञ्चालन गर्ने सहमति जुटेको बताइएको छ। सहमतिसँगै अब जिल्ला नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने भएको छ।
सभापति पदका लागि प्रतिनिधिसभाका दुई सांसदबीच हुने प्रतिस्पर्धाले रास्वपा पर्साको आन्तरिक राजनीतिलाई थप रोचक बनाएको छ। दुवै उम्मेदवार पार्टीभित्र प्रभावशाली नेताका रूपमा चिनिने भएकाले चुनावी परिणामलाई विशेष चासोका साथ हेरिएको छ।
जिल्ला सभापतिको निर्वाचनलाई रास्वपा पर्साको आगामी संगठनात्मक दिशा र नेतृत्व तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले जिल्लामा पार्टीको संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन तथा आगामी निर्वाचनको रणनीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
पार्टीभित्रको विवाद सहमतिमार्फत समाधान भएपछि अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप एकताबद्ध बनाउने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन्। अब सबैको ध्यान हरि पन्त र सुशील साह कानुबीच हुने प्रतिस्पर्धाको नतिजातर्फ केन्द्रित भएको छ।