भारतीय महावाणिज्य दूतावास, वीरगञ्जको आयोजनामा चितवनको भरतपुरस्थित नारायणी नदीको तटमा विशेष योग कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमकी प्रमुख अतिथि सहकारी तथा गरिबी निवारण मन्त्री बिनु राई माझी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीणाले गर्नुभएको थियो।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग चितवनका एसपीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नेपाल–भारत मैत्री संघ, पतञ्जलि योग समिति, उद्योग वाणिज्य संघ, आर्ट अफ लिभिङ, भूतपूर्व सैनिक संगठनलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा योगप्रति बढ्दो आकर्षण देखिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत देवी सहाय मीणाले योगको शारीरिक, मानसिक तथा आध्यात्मिक महत्वबारे प्रकाश पार्नुभयो। उहाँले योग भारतको प्राचीन सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै वर्तमान समयमा यो विश्वव्यापी रूपमा स्वास्थ्य, शान्ति र समृद्धिको माध्यम बनेको बताउनुभयो। साथै, योगले नेपाल–भारतबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो।
प्रमुख अतिथि मन्त्री बिनु राई माझीले योग स्वस्थ जीवनशैलीको आधार भएको बताउँदै नियमित योग अभ्यासले व्यक्तिलाई शारीरिक रूपमा तन्दुरुस्त र मानसिक रूपमा सशक्त बनाउने धारणा राख्नुभयो। उहाँले तनावमुक्त समाज निर्माण र सकारात्मक ऊर्जाको प्रवाहका लागि योग अत्यन्त प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो।
.jpeg)
कार्यक्रममा प्रशिक्षित योग प्रशिक्षकहरूले ‘सामान्य योग प्रोटोकल’ अन्तर्गत विभिन्न योगासन तथा प्राणायाम अभ्यास गराएका थिए। सहभागीहरूले सामूहिक रूपमा योग अभ्यास गर्दै स्वास्थ्य र आत्मिक शान्तिको अनुभूति गरेका थिए।
नारायणी नदीको रमणीय तटमा सम्पन्न उक्त कार्यक्रमले सहभागीहरूलाई प्राकृतिक वातावरणसँग नजिकिँदै योगको महत्व अनुभूति गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रमले अन्तर्राष्ट्रिय योग दिवसको सन्देश प्रवाह गर्दै स्वास्थ्य, सद्भाव र सांस्कृतिक सहकार्यको भावना अभिवृद्धि गर्न योगदान पुर्याएको विश्वास गरिएको छ।