नेपाल पत्रकार महासंघ मधेश प्रदेशले आफ्नो पाँचौँ साधारणसभामार्फत संघीयता, प्रेस स्वतन्त्रता तथा व्यावसायिक पत्रकारिताको संरक्षणका लागि सात बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। महोत्तरीको बर्दिबासस्थित गौतम होटलमा असार ६ गते सम्पन्न साधारणसभाले पत्रकारिता क्षेत्रसँग सरोकार राख्ने समसामयिक विषयमा स्पष्ट धारणा अघि सारेको हो।
घोषणापत्रमा संघीय सरकारले परिपत्रमार्फत प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै त्यस्ता कदम संविधान र संघीयताको मूल मर्मविपरीत रहेको उल्लेख गरिएको छ। महासंघले संघीयताको संरक्षणका लागि प्रदेश तथा स्थानीय तहसँग निरन्तर सहकार्य र समन्वय गर्दै प्रतिरोधका कार्यक्रम अघि बढाउने जनाएको छ।
त्यसैगरी, निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने उद्देश्यले जारी गरिएको प्रेसविरोधी परिपत्र तत्काल खारेज गर्न दबाबमूलक अभियान सञ्चालन गरिने घोषणा गरिएको छ। पत्रकारिताको संस्थागत विकास र पत्रकारहरूको हित संरक्षणका लागि मधेश प्रदेश सरकारसँग सहकार्य गर्दै प्रदेश समिति तथा आठवटै जिल्ला शाखालाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि महासंघले जनाएको छ।
घोषणापत्रमा पत्रकारिता आचारसंहिताविपरीत हुने गतिविधिप्रति महासंघले कुनै संरक्षण नदिने स्पष्ट पारिएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि सम्बन्धित निकायले गर्ने कानुनी कारबाहीमा महासंघले साथ नदिने उल्लेख गरिएको छ।
सामाजिक सञ्जालमा गरिएका व्यक्तिगत अभिव्यक्तिलाई पत्रकारितासँग जोडेर गलत भाष्य निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिने निर्णय पनि साधारणसभाले गरेको छ। साथै पत्रकारिताको नाममा हुने अनैतिक, गैरकानुनी तथा पेशागत मर्यादाविपरीतका गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइने र दोषीमाथि कारबाहीका लागि सम्बन्धित निकायलाई आवश्यक सहयोग गरिने महासंघले जनाएको छ।
यद्यपि, विभिन्न जालझेल र पूर्वाग्रही गतिविधिमार्फत पत्रकारलाई फसाउने तथा अनावश्यक रूपमा दुःख दिने प्रयासहरूको भने सशक्त विरोध गरिने घोषणापत्रमा उल्लेख छ।
महासंघका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’द्वारा जारी घोषणापत्रमा पाँचौँ साधारणसभा सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, प्रतिनिधि, पदाधिकारी, सदस्य तथा सहभागीप्रति आभार व्यक्त गरिएको छ। साथै सम्पूर्ण सञ्चारकर्मीलाई संघीयता, लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा एकताबद्ध र दृढ रहन आह्वान गरिएको छ।