अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम बढेपछि वीरगञ्ज महानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ।
महानगरपालिकाको शिक्षा महाशाखाले मंगलबार जारी गरेको सूचनाअनुसार असार ११ गतेदेखि असार १४ गतेसम्म बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका सम्पूर्ण विद्यालयहरू बन्द रहनेछन्। बढ्दो तापक्रम र तातो हावाका कारण बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको जनाइएको छ।

हाल केही दिनयता वीरगञ्जसहित तराई–मधेशका विभिन्न जिल्लामा अत्यधिक गर्मी र लू चलिरहेको छ। तापक्रम निरन्तर बढ्दै जाँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा डिहाइड्रेसन, टाउको दुख्ने, चक्कर लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरपालिकाले सावधानीस्वरूप बिदा घोषणा गरेको हो।
शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा हस्ताक्षरित सूचनामा महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयले उक्त निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ। साथै विद्यालय प्रशासन, अभिभावक तथा सम्बन्धित निकायलाई आवश्यक समन्वय गरी विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ।
गर्मीका कारण विद्यालय बन्द गर्ने निर्णयसँगै अभिभावकहरूले राहत महसुस गरेका छन्। पछिल्ला दिनहरूमा बढ्दो तापक्रमका कारण विद्यालय जाने बालबालिकाको स्वास्थ्यप्रति चिन्ता बढ्दै गएको थियो।
महानगरपालिकाले मौसमको अवस्था मूल्याङ्कन गर्दै आवश्यक परे थप निर्णय लिन सकिने संकेत दिएको छ। यसबीच स्वास्थ्यकर्मीहरूले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन र बालबालिकालाई घामबाट जोगाउन सर्वसाधारणलाई सुझाव दिएका छन्।