प्रगतिशील लेखक सङ्घ, नेपाल, मधेश प्रदेश समितिको आयोजना र न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुल, मिथिला नगरपालिका-९ को संयोजनमा आज साहित्यिक विमर्श, रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

प्रलेस मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरेको अध्यक्षता तथा वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र विमलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकी, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, नारायणविक्रम थापालगायतका दर्जनौँ वक्ताहरूले भाषा-साहित्यले हाम्रो समाजमा पार्ने दूरगामी प्रभावका बारेमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र विमलले वर्तमान समयलाई दिशानिर्देश गर्दै राष्ट्रको हितमा साहित्य रचना गर्नु प्रगतिशील सर्जकको दायित्व भएको कुरा बताउनुभयो। उहाँले भन्नुभयो, "राष्ट्रलाई अग्रगामी बाटोमा डोर्याउन र समुन्नत समाज निर्माण गर्ने कार्यमा विगतदेखि नै सर्जकको भूमिका थियो र अब पनि हुनुपर्छ। यसैलाई आधार बनाएर लेखिएको साहित्य जीवित हुन्छ।"
"कलमको गर्भमा बौद्धिकताको मसी भरेर कापीका पानामा शब्दका फूल फुलाउने लेखक तथा साहित्यकारहरूभन्दा, माटोको गर्भमा पसिनाको जल र सिर्जनाको बीज हालेर जीवनको आधार उब्जाउने किसानहरू कम छैनन्" भन्ने सन्देश प्रवाह गर्न राष्ट्रिय धान दिवस २०८३ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा मधेश प्रदेशका अधिकांश जिल्लाका सर्जकहरू, बागमती प्रदेशको रामेछाप र सिन्धुली हुँदै मित्रराष्ट्र भारतका साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सो कार्यक्रममा प्रा. डा. राजेन्द्र विमल र नारायणविक्रम थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रमलाई सम्पन्न गर्न सहकार्य गर्ने न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुल र सहायक प्रधानाध्यापक उद्धव अविचललाई कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यालयको तर्फबाट समेत प्रलेसलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
सहभागी सर्जकहरूले आ-आफ्ना कविता, गीत, गजल र मुक्तक वाचन गर्नुका साथै नेपाली मौलिक बाजा सारङ्गीका निर्माता तथा वादक सुमन सारङ्गीले सारङ्गीको धुन सुनाउनुभएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष नारायण घिमिरेले साहित्यको बारीमा अक्षरको बीज छरेर चेतनाको फल फलाउन साहित्यकार मित्रहरू तल्लीन रहनुपर्ने विचार व्यक्त गर्दै स्रष्टाकै कारण समाजको प्रगतिशील रूपान्तरण हुने कुरा बताउनुभयो। सहभागी साथीहरूलाई साहित्यको मार्गबाट समाजसेवामा लाग्न प्रेरित गर्दै उहाँले कार्यक्रमको समापन गर्नुभयो।