पर्सा प्रहरीले वीरगञ्जबाट ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। साइकलमा आँप बिक्री गर्दै लागूऔषधको अवैध कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार असार १६ गते साँझ करिब ६ बजे वीरगञ्ज महानगरपालिका–९ स्थित भूतबङ्गला नजिक सडकको पश्चिमी पेटीमा साइकलमा आँप बेचिरहेका व्यक्तिले ब्राउन सुगरसमेत बिक्री गरिरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। निगरानीका क्रममा भारतको बिहार राज्य, बेतिया जिल्ला, गोपालपुर थाना अन्तर्गत घोघा ग्राम पञ्चायत–२ स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका–८ मा डेरा गरी बस्दै आएका ३० वर्षीय गुडडु आलमलाई शंकाको आधारमा खानतलासी गरिएको थियो।
खानतलासीका क्रममा आलमले प्रयोग गरिरहेको साइकलको पछाडिको चक्कानजिक झुण्ड्याइएको प्लास्टिकको बोराभित्र कालो प्लास्टिकले बेरेर सेतो प्लास्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगरजस्तो देखिने २७ ग्राम २९० मिलिग्राम गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित आलमलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकले जानकारी दिनुभयो।
पत्रकार सम्मेलनमा एसपी पाठकले लागूऔषध नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै सञ्चारमाध्यम र सञ्चारकर्मीको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो। समाजमा भइरहेका यस्ता अवैध गतिविधिबारे समयमै सूचना उपलब्ध गराउन उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो।
उक्त पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी राजु कार्कीको समेत उपस्थिति रहेको थियो।
प्रहरीले पछिल्लो समय पर्सा जिल्लामा लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणलाई प्राथमिकतामा राख्दै निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ। सीमावर्ती क्षेत्र हुँदै हुने लागूऔषध कारोबार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन भइरहेका बेला यो पक्राउलाई प्रहरीको अर्को महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ।