लामो समयदेखि विवाद र अदालती प्रक्रियाले रोकिएको वीरगञ्जको मुख्य सडक विस्तार अभियान पुनः तीव्र रूपमा अघि बढाइएको छ। वीरगञ्जलाई २५र२५ मिटर चौडा सडकसहित व्यवस्थित सहर बनाउने लक्ष्यका साथ सोमबार बिहानदेखि सडक डिभिजन कार्यालय हेटौँडा र वीरगञ्ज महानगरपालिकाको संयुक्त टोलीले डोजर परिचालन गर्दै सडक सीमाभित्र रहेका घर, पसल तथा अन्य संरचना हटाउन सुरु गरेको हो।
यसअघि स्थानीयको विरोध, आन्दोलन तथा कानुनी प्रक्रियाका कारण रोकिएको अभियान यसपटक भने प्रशासनले कडा सुरक्षा व्यवस्थासहित सञ्चालन गरेको छ। सडक विस्तारका क्रममा कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्या परिचालन गरिएको छ। विशेषगरी गण्डक चोक र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।
महानगरपालिकाले अभियान सुरु हुनुअघि नै प्रभावित क्षेत्रमा अन्तिम सूचना जारी गरेको थियो। आइतबार राति माइकिङमार्फत सोमबारदेखि सडक सीमाभित्रका संरचना हटाइने जानकारी दिँदै घरधनी तथा व्यवसायीलाई भवन खाली गर्न र आफ्ना बहुमूल्य सामान सुरक्षित स्थानमा सार्न आग्रह गरिएको थियो। सूचनापछि धेरै स्थानीयले रातभरि नै पसल र घरभित्रका सामग्री अन्यत्र सारेका थिए।
वीरगञ्जको मुख्य सडक विस्तारको विषय विगत करिब तीन दशकदेखि विवादको केन्द्रमा रहँदै आएको छ। विशेषगरी गण्डक चोकदेखि मितेरी पुलसम्मको सडकलाई २५र२५ मिटर फराकिलो बनाउने योजनामा स्थानीयको असन्तुष्टि, मुआब्जाको विवाद तथा कानुनी अड्चनका कारण पटक–पटक काम प्रभावित हुँदै आएको थियो।
गत फागुनमा सर्वोच्च अदालतले स्थानीयवासीले दायर गरेको रिट निवेदन खारेज गरेपछि भने सडक विस्तारका लागि कानुनी अवरोध हटेको थियो। त्यसपछि सम्बन्धित निकायले आवश्यक तयारी पूरा गर्दै पुनः अभियान अघि बढाएको हो।
सडक विस्तारको विरोध गर्दै आएको वीरगञ्ज बचाउ संघर्ष समिति ले भने पर्याप्त मुआब्जा, पुनःस्थापना तथा वैकल्पिक व्यवस्थापनबिना संरचना हटाउन खोजिएको आरोप लगाउँदै आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। यसअघि समितिको नेतृत्वमा विरोध प्रदर्शन, टायर बाल्ने तथा ढुङ्गामुढासमेत भएका घटनापछि प्रशासनले सुरक्षा रणनीति थप कडा बनाएको थियो।
यता, वीरगञ्ज महानगरपालिकाले सडक विस्तार कुनै व्यक्तिविशेषविरुद्धको अभियान नभई सहरको दीर्घकालीन विकास, ट्राफिक व्यवस्थापन तथा नागरिकको सहज आवागमनका लागि आवश्यक योजना भएको जनाएको छ। महानगरका अनुसार बढ्दो सवारी चाप, साँघुरा सडक र दैनिक हुने ट्राफिक जामलाई समाधान गर्न मुख्य सडक फराकिलो बनाउनु अपरिहार्य भएको हो।
प्रशासनले सडक सीमाभित्र परेका संरचना हटाउने कार्य चरणबद्ध रूपमा निरन्तर अघि बढाइने जनाएको छ भने प्रभावित पक्षसँग आवश्यक समन्वय र संवादलाई समेत निरन्तरता दिइने बताइएको छ। वीरगञ्जको बहुप्रतीक्षित सडक विस्तार अभियान पुनः सुरु भएसँगै अब आगामी दिनमा यसको कार्यान्वयन कसरी अघि बढ्छ भन्ने विषय स्थानीयवासी, व्यवसायी र सरोकारवालाको चासोको केन्द्र बनेको छ।