वीरगञ्ज : पर्सा प्रहरीले वीरगञ्जस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव र प्रहरी इन्सपेक्टर प्रदीप पौडेलसहित पक्राउ परेका ८ जनाको नाम सर्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भदौ १२ गते राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि ९क्यासिनो० मा नेपाली प्रवेश गरी जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले टोली परिचालन गरेको थियो ।
प्रहरी टोलीले क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चार जना र नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार जुवा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव जो सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष पनि हुन्, उनीसहित वीरगञ्ज महानगरपालिका–११ का ३० वर्षीय चन्दन सहनी, सोही वडाका ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जा, हरिनास गाउँपालिका–९ का ३६ वर्षीय प्रदीप पौडेललाई नियन्त्रणमा लिइएको हो । अध्यक्ष यादव नेकपा एमालेबाट निर्वाचित हुन् ।
३६ वर्षीय पौडेल पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रहेका छ ।
त्यसैगरी नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी, पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज(१२ का ५० वर्षीय प्रदेशी साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यता, यही प्रकरणमा सखुवाप्रसौनी गाउँपालिकाको सरकारी सवारीसाधनसमेत क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको छ। गाउँपालिकाको ना १ झ १६८७ नम्बरको स्कर्पियो क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पर्सा प्रहरीले क्यासिनोको हार्ड डिक्स, कागजात, कम्प्युटर र सिसिटिभीको डिभिआर बक्स पनि नियन्त्रणमा लिएको छ।