सशस्त्र प्रहरी बल आएको १८ वर्ष बितिसक्दा पनि पर्सा जिल्लाको ७ इकाइ अझै आफ्नो भवनमा सञ्चालन हुन सकेका छैनन् । जिल्लाका कुल १७ बोर्डर आउट पोस्ट ९बीओपी० मध्ये हालसम्म १० वटाको मात्रै आफ्नै जग्गा र भवन छ । बाँकी ७ बीओपी अझै मठमन्दिरका जग्गा तथा सिँचाइ कार्यालयका भवनमा सञ्चालित छन् ।
प्रस्तावित सीमा सुरक्षा गुल्म ९प्रसिसु० अलौ, बीओपी अमरपट्टी, प्रसिसु गुल्म लहावरथकरी, बीओपी पकाहामैनपुर, बीओपी भिष्वा, बीओपी मिर्जापुर, प्रसिसु गुल्म सुवर्णपुर, बीओपी सुरुचि विजयबस्ती, बीओपी ब्रह्मानगर र बीओपी ठोरीको मात्र आआफ्नो जग्गामा भवन रहेका छन् ।
प्रसिसु गुल्म वीरगन्ज, बीओपी सिर्सिया, बीओपी ड्राइपोर्ट, बीओपी प्रसौनीभाठा, प्रसिसु गुल्म भिखमपुर, बीओपी पिडारीगुठी, बीओपी महादेवपट्टीको अझै आफ्नै जग्गामा भवन निर्माण हुन सकेको छैन । हाल सीमा सुरक्षा गुल्महरुमा डीएसपीको कमान्डमा ३०, बीओपीहरुमा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको कमान्डमा क्रमशः २५ र २० जनाको टोली सीमा सुरक्षार्थ प्रयोजनमा खटिएका छन् । सीमा सुरक्षासँगै सीमामा हुने अवैध तस्करी र अपराध नियन्त्रण पनि सशस्त्र प्रहरीको प्रमुख जिम्मेवारी र प्राथमिकता हो ।
जिल्लाको ग्रामीण भेगमा नेपाल प्रहरीको इकाइ स्थापना गर्न जग्गा पाइने तर सशस्त्र प्रहरीको इकाइ स्थापना गर्न जग्गा तथा भवन नपाइने प्रवृत्ति अझै पनि कायमै छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वार्टर पर्सा कार्यालय हाल वीरगन्ज चिनी कारखानाको जग्गामा स्थापना गरिएको छ । सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी देवेन्द्रबहादुर सिंह आफ्नै जग्गा र भवन नभएका पोस्टहरुमा जग्गा प्राप्तिको प्रयास भइरहेको बताउँछन् । प्रस्तावित सीमा सुरुक्षा गुल्म भिखमपुर, बीओपीहरु महादेवपट्टी र पिडारीगुठीको जग्गा प्राप्तिको काम अन्तिम चरणमा रहेको पनि उनले बताए ।