वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले वडा नं. २७ स्थित उदयपुरघुर्मीमा निर्माण भइरहेको कालोपत्रे सडकको निरीक्षण गर्नुभएको छ। हाल सो सडकमा कालोपत्रे प्रक्रिया अघि बढाउन अतिक्रमण हटाउने र सडकको बेस तयार गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।
निरीक्षणका क्रममा महानगर प्रमुख सिंहले निर्माण कार्यको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै, तोकिएको समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
यस्तै उहाँले आजै वडा नं. २१ परवानीपुरमा निर्माणाधीन सडकको पनि निरीक्षण गर्नुभएको छ। मुख्य सडकबाट पटेल नगरतर्फ जाने उक्त सडकमा देखिएको अवरोध हटाएर अहिले निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।
वीरगंज महानगरपालिकाले ग्रामीण क्षेत्रलाई बजारसँग जोड्न र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै हरेक वडामा कालोपत्रे सडक, ढल निकास, खानेपानी लगायतका परियोजनाहरूमा तीव्रता दिएको जनाएको छ।
महानगर प्रमुख सिंहले वडा नं. १४ स्थित सानो पिप्रा बौद्धिमाईमा हालै सम्पन्न भएको कालोपत्रे सडकको समेत स्थलगत अवलोकन गर्नुभयो। निरीक्षणको क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नं. २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, स्थानीयवासी तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दाहरूले सडक निर्माणले आवागमन सहज हुनुका साथै आर्थिक र सामाजिक विकासमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।