विश्वप्रसिद्ध गढीमाई मन्दिरको वातावरणीय सौन्दर्य बढाउने र प्राकृतिक सन्तुलन कायम राख्ने उद्देश्यसहित महागढीमाई फाउण्डेशनले ‘स्वच्छ वातावरण, समृद्ध समाज’ नारासहित वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सरकारी–गैरसरकारी निकायका प्रतिनिधि, शिक्षाविद्, समाजसेवी र स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति थियो। महागढीमाई नगरपालिका र वल्र्ड लिंक बाराको सहकार्यमा सम्पन्न यस अभियानमा सहभागीहरूले सामूहिक रूपमा वृक्षारोपण गर्दै वातावरण संरक्षणको सन्देश दिएका थिए।
मुख्य अतिथि तथा नेपाली कांग्रेस बारा जिल्ला सचिव भैयाराम यादवले हरियाली विकासलाई समृद्धिको आधार भन्दै भने, “वातावरणमैत्री अभियान जीवनशैली परिवर्तनको बाटो हो, यसले सामाजिक रूपान्तरणमा पनि योगदान पुर्याउँछ।”
खल्ती एपका सह–संस्थापक अरबिन्द साहले वृक्षारोपणजस्ता पहलले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने बताए। उनले फाउण्डेशनको प्रयासलाई सराहना गर्दै यसलाई दीर्घकालीन रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा पूर्व वडा अध्यक्ष बिरेन्द्र चौरसिया, वल्र्ड लिंक बाराका ब्रान्च म्यानेजर प्रदीप साह, समाजसेवी जितेन्द्र गुप्ता, गढीमाई नमूना माविका प्रधानाध्यापक धर्मेन्द्र यादवलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। सहभागीहरूलाई गम्छा र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
फाउण्डेशनका संयोजक सुनील कुशवाहाको अध्यक्षतामा र जयराम कुशवाहाको सञ्चालनमा सम्पन्न वृक्षारोपणमा विभिन्न जातजाति र समुदायका युवाहरूको सक्रिय सहभागिताले सामाजिक एकताको सन्देश दिएको थियो। फाउण्डेशनले यस्ता वातावरणीय र समाजसेवी गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै स्थानीय वातावरणमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।