नेपाल पत्रकार महासंघ मधेश प्रदेशको स्थायी कार्यालय भवन निर्माणको तयारी अन्तिम चरणमा पुगेको बेला मंगलबार बिहान अप्रत्याशित रूपमा धनुषाका केही वकिलहरूको समूहले निर्माण प्रक्रिया अवरुद्ध गरेको छ। गुठी संस्थानसँग लिज सम्झौताअनुसार प्राप्त ४ कठा जग्गामा तारबारको काम भइरहेका समयमा भएको यस घटनाले स्थानीय सञ्चारकर्मी र कानुनी वृत्त दुवैलाई स्तब्ध पारेको छ।
घटनाको बेला महासंघका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, सचिव हदिस खुदारलगायत पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष रूपमा उपस्थित थिए। उनीहरू भवन निर्माण कार्यको सुरक्षा सुनिश्चित गर्न तारबार गरिरहेका थिए। तर, वकिलहरूको समूह आइपुगेपछि कुनै आधिकारिक आदेश वा कानुनी आधार बिना नै बल प्रयोग गर्दै कार्य रोक्न खोजिएको महासंघको आरोप छ।
अध्यक्ष बन्जाराले स्मरण गराएअनुसार, सो जग्गा गुठी संस्थान र महासंघ बीचको औपचारिक लिज सम्झौताअनुसार प्राप्त भएको हो र त्यसमा भवन निर्माण गर्न महासंघलाई सम्पूर्ण कानुनी अधिकार प्राप्त छ। “सम्झौताका सबै प्रक्रिया पूरा गरेर, कागजातसहित काम सुरु गर्दा कानुनकै पक्षधर पेशाबाट यस्तो अवरोध हुनु दुर्भाग्यपूर्ण मात्र नभई आपत्तिजनक पनि हो,” उनले प्रतिक्रिया दिए। बन्जाराको भनाइमा, यो केवल भवन निर्माणमा मात्र होइन, सञ्चारकर्मीको हक–अधिकार र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार हो। “यो संस्थागत विकासको यात्रामाथि ठाडो हस्तक्षेप हो,” उनले थपे।
महासंघले घटनाबारे तत्काल जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रशासन र सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ। स्थानीय सञ्चारकर्मी र सामाजिक अगुवाहरूले पनि वकिलहरूको कदमलाई निन्दनीय ठहर गर्दै यसलाई प्रेस स्वतन्त्रता र जनताको सूचना अधिकारमाथि आघातको रूपमा लिएका छन्। हाल निर्माण कार्य केही समयका लागि रोकिएको भए पनि महासंघले चाँडै पुनः तारबार र भवन निर्माण प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको जनाएको छ।