मधेश प्रदेशको राजधानी जनकपुरधाममा पत्रकारमाथि भएको सांघातिक आक्रमणबारे राष्ट्रिय मानव अधिकार आयोगले औपचारिक रूपमा अनुसन्धान प्रक्रिया सुरु गरेको छ। आयोगको मधेश प्रदेश कार्यालयबाट खटिएको टोलीले मंगलबार नेपाल पत्रकार महासंघको प्रदेश कार्यालयमा पुगेर पीडित तथा सरोकारवालासँग विस्तृत जानकारी संकलन गरेको हो।
आयोगको टोलीमा मानव अधिकार अधिकृत किरण घिमिरे र राहुल कुमार ठाकुर तथा सूचना–प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झा सहभागी थिए। टोलीले महासंघका पदाधिकारीहरूसँग छलफल गर्दै घटनाको पृष्ठभूमि, क्षति र कानुनी कदमबारे प्रत्यक्ष जानकारी लिएको छ।
उल्लेखित घटना गत साउन २७ गते जनकपुरधाम उपमहानगरपालिका–४, स्वर्गद्वारी नजिकको गुठी जग्गा विवादसम्बन्धी पत्रकार सम्मेलनपछि भएको हो। सम्मेलन समाप्त भएलगत्तै केही अधिवक्ताहरूको समूहले संलग्न पत्रकारहरूलाई नियोजित रूपमा कुटपिट गरेको आरोप लगाइएको छ।
महासंघका अनुसार, आक्रमणमा परी महासचिव शैलेन्द्र महतो क्रान्तिको खुट्टा भाँचिएको छ भने पत्रकार अनिल कुमार निरालाको आँखा र पत्रकार दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै, उपाध्यक्ष ज्योति झा र पत्रकार विनीता यादवमाथि समेत अपमानजनक व्यवहार र लैङ्गिक संवेदनशीलता विपरीत हातपात भएको विवरण आयोगलाई प्रस्तुत गरिएको छ।
छानबिन क्रममा महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, मधेश प्रदेश अध्यक्ष श्याम प्रसाद बन्जारा, सचिव हदिस खुददार, धनुषा शाखा अध्यक्ष पुरण गुप्ता लगायतका पत्रकारहरू उपस्थित थिए। पदाधिकारीहरूले आयोगलाई दोषी पहिचान गरी कारबाहीमा ल्याउन र पत्रकारको सुरक्षाका लागि स्पष्ट नीति लागू गर्न आग्रह गरेका छन्।
मानव अधिकार आयोगले घटनाबारे आवश्यक प्रमाण र विवरण संकलन गरी शीघ्र प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। यसैबीच, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवको नेतृत्वमा अर्को टोली पनि मंगलबार महासंघको कार्यालय पुगेको थियो।
यसअघि, आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, इन्सेक मधेश प्रदेशका प्रमुख राजु पासवान र कार्यवाहक अध्यक्ष यादव स्वयंले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत घाइते पत्रकारहरूसँग भेटघाट गरी घटनाबारे प्रत्यक्ष जानकारी लिएका थिए।