जनकपुरमा पत्रकारमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। साउन २७ गतेको पत्रकार सम्मेलनका क्रममा नेपाल बार एसोसिएसनका केही अधिवक्ताहरूको समूहले पत्रकारमाथि आक्रमण गरेको आरोप लगाउँदै महासंघले दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेको हो।
महासंघका अध्यक्ष श्याम बन्जारा र धनुषा शाखाका अध्यक्ष पुरन साहको हस्ताक्षरयुक्त ज्ञापनपत्रमा यो घटना प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रहार भएको उल्लेख छ। महासंघका अनुसार, श्रीराम गुठीको स्वामित्वमा रहेको चार कठ्ठा जग्गा २० वर्षका लागि लिजमा लिएर भवन निर्माणको तयारी भइरहेका बेला अधिवक्ताहरूको समूहले जग्गा कब्जा गर्ने प्रयास गर्दै हुलदंगा मच्चाएको र सोही क्रममा पत्रकारमाथि आक्रमण भएको हो।

आक्रमणमा महासंघका अध्यक्ष बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, सञ्चारकर्मी दिवाकर राय, अनिलकुमार निराला र बिनिता यादव घाइते भएका छन्। घाइतेमध्ये रायको अवस्था गम्भीर रहेको छ भने महासचिव महतोको खुट्टा दुई स्थानमा भाँचिएको छ। साथै, पत्रकार महिलामाथि अभद्र व्यवहार र आपत्तिजनक शब्द प्रयोग गरिएको आरोपसमेत लगाइएको छ।
घटनापछि तत्काल उजुरी दर्ता गरिए पनि अहिलेसम्म कुनै दोषी पक्राउ नपरेको भन्दै महासंघले प्रहरीको भूमिकाप्रति प्रश्न उठाएको छ। अनुसन्धानमा देखिएको ढिलासुस्तीले कानूनी शासनप्रति अविश्वास बढाएको महासंघको भनाइ छ।
महासंघले प्रधानमन्त्रीमार्फत सरकारलाई प्रेस स्वतन्त्रताको संरक्षणका लागि प्रभावकारी कदम चाल्न र घटनामा संलग्न सबैलाई निष्पक्ष छानबिनपछि कठोर कारबाही गर्न आग्रह गरेको छ।