वीरगंजबाट प्रकाशन हुँदै आएको प्रतिक दैनिकले आइतबार आफ्नो ३९औं वार्षिकोत्सव भव्य समारोहका बीच सम्पन्न गरेको छ। वीरगंज–१५ स्थित ज्येष्ठ नागरिक पार्क, लक्ष्मणवामा आयोजित कार्यक्रममा विभिन्न सञ्चारकर्मी, कर्मचारी, विशिष्ट अतिथिहरू र सञ्चार क्षेत्रमा आबद्ध व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह रहेका थिए। यस अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, मधेश विश्वविद्यालयका उपकुलपति डा। दीपक शाक्य लगायतले पनि आफ्नो धारणा व्यक्त गरेका थिए। ८‘प्रतिक प्रकाशन समूह’८की अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा सम्पन्न समारोहमा विगत ३८ वर्षको यात्रा पूरा गरी ३९औं वर्ष प्रवेशको उपलक्ष्यमा विभिन्न पत्रकार तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो।
यस वर्षको स्व। सुबोध स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्टका पत्रकार क्रान्ति शाहलाई नगद रु ५१,००० सहित प्रदान गरिएको छ। प्रतीक दैनिकका उत्कृष्ट संवाददाता प्रमोद यादवलाई १५ हजार रुपैयाँसहित, उत्कृष्ट स्तम्भकार ओमप्रकाश खनाललाई १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। साथै, स्व। चीरञ्जीवी कोइराला स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार सूर्यनारायण विकलाई १५ हजार रुपैयाँसहित प्रदान गरिएको थियो। कार्यक्रमका क्रममा कर्मचारी श्यामजी प्रसाद गुप्तालाई पनि ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो भने स्तम्भकार अनन्तलाल दासलाई दोशल्ला ओढाएर सम्मानित गरियो।
कार्यक्रमका वक्ताहरूले प्रतिक दैनिकले दीर्घकालदेखि निष्पक्ष, जिम्मेवार र सत्यनिष्ठ पत्रकारिता गर्दै आएको प्रशंसा गर्दै, आगामी दिनमा पनि दैनिकले समाजलाई सूचित र सचेत बनाउने विश्वास व्यक्त गरे। प्रतिक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले पाठक, विज्ञापनदाता, सञ्चारकर्मी र कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय तथा पाठकमैत्री सामग्री प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरे।