बाराको विश्रामपुर गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृतको कार्यभार औपचारिक रूपमा हस्तान्तरण भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरुवा निर्णयअनुसार सुनिल प्रसाद केशरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतको पद बहाली गरेका हुन्।
विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो, गाउँकार्यपालिकाका पदाधिकारी, जनप्रतिनिधि तथा कर्मचारीहरूले आज केशरीलाई स्वागत गर्दै पदभार ग्रहण गराएका हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष भुटोले नयाँ अधिकृतसँग गाउँपालिकाको समग्र प्रशासनिक कार्य सञ्चालन र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा व्यक्त गरे। मन्त्रालयले साउन १६ गते गरेको निर्णयअनुसार केशरीलाई विश्रामपुर पठाइएको हो। यसअघि यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको सरुवा फेटा गाउँपालिकामा गरिएको छ।
सुनिल केशरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै कार्यरत रहँदै आएका थिए। उनले यसअघि बाराको निर्वाचन कार्यालयसहित विभिन्न पालिकामा प्रशासकीय जिम्मेवारी सम्हालेका छन्। त्यस क्रममा उनले स्थानीय सरकारसँग सहकार्य गर्दै प्रशासनिक सुधार, सेवा प्रवाहमा सहजता र सुशासन प्रवर्द्धनमा अनुभव हासिल गरेका छन्।
नव नियुक्त प्रशासकीय अधिकृत केशरीले पदबहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “गाउँपालिकाको प्रशासनिक कामलाई अझ पारदर्शी, छरितो र जनमुखी बनाउन प्रतिबद्ध छु। जनप्रतिनिधि र कर्मचारीसँग सहकार्य गरेर सेवा प्रवाहलाई गुणस्तरीय बनाउन प्रयास गर्नेछु।”
विश्रामपुर गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीजस्ता आधारभूत क्षेत्रमा विकासका परियोजनाहरू अगाडि बढाइरहेको छ। नयाँ प्रशासकीय अधिकृतले यी परियोजनालाई कार्यान्वयनमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।