वातावरणीय असन्तुलन, प्रदूषण र हरियालीको कमीलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका–१६, नगवामा मंगलबार विशेष हरियाली अभियानको शुभारम्भ गरिएको छ। स्थानीय समुदायलाई रुख–बिरुवाप्रति आकर्षित गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विभिन्न प्रजातिका फलफूल, छायाँ दिने तथा औषधीय बिरुवाहरू निशुल्क वितरण गरिएका छन्।
अभियानको उद्घाटन जनमत पार्टी पर्साका अध्यक्ष तथा युवा नेता ओम प्रकाश सरार्फले गरे। बिरुवा वितरण गर्दै उनले भने, “रुख–बिरुवा रोप्न मात्रै होइन, यसको संरक्षणमा पनि हामी सबै गम्भीर हुनुपर्छ। हरियालीले मात्र वातावरणीय सन्तुलन कायम रहन्छ र प्रदूषण नियन्त्रणमा सहयोग पुग्छ।”वडा कार्यालयका अनुसार घर–आँगन, विद्यालय, धार्मिक स्थल तथा सार्वजनिक स्थानमा रोप्न सकिने गरी बिरुवा वितरण गरिएको हो। यसै क्रममा वडा नं। १६ को कार्यालय परिसरमा समेत इच्छुक नागरिकले लिन सक्ने गरी विभिन्न प्रजातिका बिरुवाहरू राखिएको छ।सहभागी स्थानीयहरूले प्राप्त बिरुवालाई आफ्नै बारी, टोल र विद्यालय परिसरमा रोपेर संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन्।
अभियानमा वन पैदावर आपूर्ति समितिका अध्यक्ष श्याम शंकर चौरसिया, जनमत पार्टीका केन्द्रीय सदस्य बिध्यालाल प्रसाद, क्षेत्रीय संयोजक डा। मनोज सरार्फ, प्रदेश सदस्य शिव यादव, जिल्ला सदस्य सहनवाज राकी, युवा वरिष्ठ उपाध्यक्ष धिरेन्द्र पन्जियार, कोषाध्यक्ष सिकेन्द्र राम, महानगर युवा संयोजक संजय सिंह, महानगर सचिव लोकेश कर्ण, युवा नेता संजय सरार्फ लगायतको सक्रिय सहभागिता रहेको थियो। यस अभियानलाई थप प्रभावकारी बनाउन वन डिभिजन कार्यालय पर्साबाट उपलब्ध गराइएका बिरुवाहरू घर–घरमै पुर्याइने जनाइएको छ। अध्यक्ष सरार्फका अनुसार, “टोल–टोललाई हराभरा बनाउन घरदैलोमै बिरुवा पुर्याउने अभियान नै मुख्य लक्ष्य हो।”
यो अभियानले वीरगञ्जवासीलाई हरियाली संरक्षणप्रति सचेत बनाउने, वातावरणीय प्रदूषण न्यूनीकरणमा सहयोग गर्ने र दीर्घकालीन रूपमा स्वस्थ वातावरण निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।