इजरायलमा हमास आतङ्ककारी आक्रमणपछि अपहृत नेपाली विद्यार्थी विपिन जोशीको तत्काल रिहाइका लागि विश्व हिन्दु परिषद्, नेपालले नेपाल सरकारसँग उच्चस्तरीय पहल गर्न जोडदार माग गरेको छ।
परिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय, पर्सामा बुझाएको ज्ञापनपत्रमा जोशीको जीवनरक्षाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारले अन्तर्राष्ट्रिय कूटनीतिक पहललाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको हो।
ज्ञापनपत्रमा भनिएको छ, “विपिन जोशीको तत्काल सुरक्षित रिहाइका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय, मित्रराष्ट्र र सम्बन्धित सरोकारवालासँग समन्वय गरेर मातृभूमि फर्काउने वातावरण बनाउन आवश्यक छ।”
गत ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणपछि किबुत्ज नाहल ओजबाट नेपाली विद्यार्थी जोशी बेपत्ता भएका थिए। त्यही घटनामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने जोशी अझैसम्म सम्पर्कविहीन छन्। परिषद्का अनुसार, उनको दीर्घ बेपत्ता अवस्थाले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय मानवअधिकार समुदायमै गहिरो पीडा र चिन्ता उत्पन्न गरेको छ।
परिषद्ले भनेको छ, “नेपाल सरकारले प्रभावकारी पहल गरे मात्रै एक नेपाली आमाको आँसु पुछ्न सकिनेछ र सम्पूर्ण राष्ट्रले राहतको सास फेर्नेछ।” ज्ञापनपत्रमा तत्कालीन कदमसँगै विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकको दीर्घकालीन सुरक्षाका लागि राष्ट्रिय कार्ययोजना बनाउनुपर्नेमा पनि परिषद्ले जोड दिएको छ। अपहरणकारी समूहसँग प्रत्यक्ष वार्ता गर्न आवश्यक परे विशेष दूत नियुक्त गर्न, अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न, कूटनीतिक र राजनीतिक सबै तहमा पहल गर्न सरकारले ढिलाइ नगर्नुपर्ने परिषद्को माग छ।
विपिन जोशीको रिहाइका लागि नेपालमै पनि आवाज उठिरहेको छ। हालै माइतीघर मण्डलामा भएको प्रदर्शनमा सर्वसाधारणले “विपिनलाई छिटो फर्काऊ” भन्ने नारा दिएका थिए। परिषद्ले सो जनस्तरीय दबाबलाई समेत सरकारको संवेदनशीलतामा जोड्ने अपेक्षा व्यक्त गरेको छ।