नेपाल खानेपानी संस्थानले उपलब्ध गराएको पानीबाटै वीरगंजमा हैजा संक्रमण फैलिएको पुष्टि भएको छ। संक्रमितमध्ये अधिकांशले संस्थानको धाराको पानी सेवन गरेका थिए। स्थानीय स्वास्थ्य अधिकारीका अनुसार, पानी पाइप फुटेर नालाको पानी मिसिएको पाइएको छ। खानेपानी र ढल एउटै पाइपलाइनमा जडान हुनु, अनियमित डिप बोरिङ र नालासँगै पाइप जडान हुनु महामारी फैलिनको मुख्य कारण रहेको छ।
हिजो खानेपानी मन्त्री प्रदीप यादवसहित प्राविधिक टोली वीरगंजका विभिन्न वडामा पानी परीक्षणका लागि पुगेका थिए। हाल खानेपानी तथा ढल व्यवस्थापन विभागले ‘पियुष’ लगायतका पानी शुद्धीकरण सामग्रीसहित मोबाइल टोली परिचालन गरेको छ। टोली प्रभावित क्षेत्रमा पानी परीक्षण र शुद्धीकरणमा संलग्न छ।
दूषित खानेकुरा र पानीका कारण हैजा तीव्र रूपमा फैलिँदा वीरगंजका अस्पतालमा बिरामीको चाप असामान्य रूपमा बढेको छ। अहिलेसम्म ७१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ भने केही अस्पतालबाट परीक्षण रिपोर्ट आउन बाँकी छ। नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहका अनुसार, हैजा पुष्टि भएका बिरामीभन्दा दोब्बर झाडापखालाका बिरामी भर्ना भएका छन्। बेडको अभावले केही बिरामीलाई बरन्डाको भुइँमा राखेर उपचार गर्नुपर्ने स्थिति छ।
यसैबीच, पर्सा जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले स्वास्थ्यकर्मी अभाव नहोस् भनी अत्यावश्यक बाहेकका बिदा रोक्ने निर्णय गरेको छ। समितिका अध्यक्ष, निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले आवश्यक स्वास्थ्यकर्मीलाई केन्द्रिकृत स्वास्थ्य संस्थामा खटाउने व्यवस्था मिलाएको जानकारी दिएका छन्।
बैठकमा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह पनि उपस्थित थिए। कार्कीले झाडापखाला र हैजा रोकथामका लागि घरदैलो, माइकिङ र सचेतना अभियान तुरुन्त सञ्चालन गर्ने निर्णय सुनाएका छन्।
सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त अतिरिक्त जनशक्ति र स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समिति मार्फत वितरण, व्यवस्थापन र अनुगमन गरिनेछ। महामारीको ‘स्रोत पहिचान’ सम्बन्धी अनुसन्धान स्थानीय तहले गर्नेछ भने आवश्यक प्राविधिक सहयोग प्रदेश र सङ्घीय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउनेछ।