समाजवादी प्रेस संगठन नेपाल पर्साले आफ्नो चौथो स्थापना दिवसको अवसरमा मंगलबार बिहान वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। घण्टाघर चोकबाट सुरु भएको प्रभातफेरी माईस्थान, महावीरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै नगर परिक्रमा गरी पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी सदैव अडानमा रहेको भन्दै पत्रकारहरूको माग र आवाजलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले सरकारले ल्याउन लागेको प्रेसविरोधी विधेयक र कानुनी संशोधन अस्वीकार्य हुने स्पष्ट चेतावनी पनि दिए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले पछिल्लो समय पत्रकारितामा असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले गर्दै आएको प्रहारको विरोध गर्दै, पत्रकार एकजुट भई मिडियामैत्री राज्य निर्माणमा जुट्नुपर्ने आवश्यकता औंल्याए।
त्यस्तै, महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले श्रमजीवी पत्रकारहरूको अधिकार र क्षमतावृद्धिका लागि महासंघ सदैव लडिरहने बताए। उनले पत्रकारिता क्षेत्रमा देखिएका विकृति–विसंगति निर्मूल गर्दै सामाजिक उत्तरदायित्वसहित अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवान, मधेश प्रदेश अध्यक्ष मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्र, रेडियो वीरगञ्ज, मधेश दृष्टि र टिभी वीरगञ्जका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, श्रमजीवी पत्रकार संघ पर्साका अध्यक्ष आरके पटेललगायतको सहभागिता थियो।