गृहमन्त्री रमेश लेखकले नेपाल कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नसक्ने स्पष्ट पारेका छन्। प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सीमावर्ती क्षेत्रमार्फत हुने अवैध गतिविधि रोक्न सरकार उच्च सतर्कतामा रहेको बताए।
भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेको “नेपाली बाटो प्रयोग गरी तीन आतङ्ककारी भारत प्रवेश” भन्ने समाचार असत्य भएको उल्लेख गर्दै उनले त्यसको खण्डन गरे। लेखकले भने, “नेपालको भूमिबाट दुवै छिमेकीलाई अहित हुने कुनै पनि गतिविधि हुन दिइँदैन। प्रधानमन्त्री ओलीले लिपुलेक, लुम्पियाधुरा र कालापानीबारे चीनसँग व्यक्त गरेको चासो जायज हो। यी भूभाग नेपालकै हुन्, यसले दुई देशबीचको सम्बन्धमा असर गर्दैन।”
वीरगञ्जका मेयर राजेशमान सिंहसम्बन्धी प्रश्नमा गृहमन्त्री लेखकले कानुनअनुसारै छिनोफानो हुने बताए। “मन्त्रीको इच्छाअनुसार कसैलाई कारबाही वा छुट हुने छैन। सबैले कानुनी प्रक्रियाबाट न्याय पाउँछन्,” उनले स्पष्ट पारे। भिजिट भिसासम्बन्धी विवादलाई अनावश्यक राजनीति गरिएको भन्दै उनले आफूमाथि लगाइएका आरोप असत्य भएको दाबी गरे। उनका अनुसार, आफूमाथि आरोप लगाउनेहरू नै भिजिट भिसाको दुरुपयोग गरेर मन्त्री बनेका थिए र अहिले सहकारी ठगी मुद्दामा जेलमा छन्।
गृहमन्त्री लेखकले निकासी–पैठारी नियन्त्रणमा सबै सरोकारवालाको सहकार्य जरुरी रहेको औंल्याए।“कडाइ गर्दा स्थानीयलाई गुनासो हुन्छ, खुकुलो गर्दा व्यापारीसँग मिल्यो भन्ने आरोप आउँछ। त्यसैले विशेष कदम चालिन्छ,” उनले भने। किसानलाई सहज ढंगले मल उपलब्ध गराउन मन्त्रालयबीच समन्वय भइरहेको उनको भनाइ थियो। साथै, हाल वीरगञ्जमा देखिएको हैजा नियन्त्रणका लागि विज्ञ टोली गठन गरी कारण पहिचान गर्दै अघि बढ्ने घोषणा गरे।
लेखकले नेपालको संविधान र लोकतन्त्र सुरक्षित रहेको उल्लेख गर्दै राजतन्त्र पक्षधरको गतिविधिबाट लोकतन्त्र कमजोर नहुने बताए। “राजाको समयमा नागरिकले स्वतन्त्रतापूर्वक प्रश्न गर्न पाउँदैनथे, अहिले गणतन्त्रमा सबैले निर्धक्क प्रश्न गर्न पाएका छन्। सञ्चारकर्मीहरूको भूमिकाले लोकतन्त्र, शान्ति र समृद्धि बलियो बनाउँछ,” उनले जोड दिए।