मधेस प्रदेशका पर्यटन, उद्योग तथा संस्कृति मन्त्री वसन्त कुशवाहले वीरगञ्जस्थित नारायणी अस्पताललाई थप स्रोत साधनसहित सुदृढ बनाइने बताएका छन् ।
शुक्रबार अस्पतालको निरीक्षण भ्रमण गर्दै मन्त्री कुशवाहले बिरामीको सहज उपचारका लागि प्रदेश सरकारले आवश्यक सहयोग र व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

निरीक्षणका क्रममा मन्त्री कुशवाहले अस्पताल प्रशासन, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग सेवा–सुविधाबारे जानकारी लिँदै तत्काल आवश्यक पर्ने स्रोत साधनका विषयमा छलफल गरे ।
उनले अस्पतालमा आउने बिरामीको चाप धेरै भए पनि स्वास्थ्यकर्मी र औषधीको कमीका कारण गुणस्तरीय उपचारमा समस्या देखिएको भन्दै छिट्टै सुधारात्मक कदम चालिने घोषणा गरे ।

मन्त्री कुशवाहले भने, “नारायणी अस्पताल मधेस प्रदेशकै प्रमुख स्वास्थ्य संस्थामध्ये एक हो । यसलाई थप व्यवस्थित र जनमैत्री बनाउन सरकारले थप डाक्टर र नर्स उपलब्ध गराउनेछ ।
साथै, आधारभूत उपचारका लागि आवश्यक पर्ने निःशुल्क औषधी पनि प्रदेश सरकारले निरन्तर आपूर्ति गर्नेछ।”उनले स्वास्थ्य सेवा नागरिकको आधारभूत हक भएकाले यसमा कुनै सम्झौता गर्न नसकिने स्पष्ट पार्दै नारायणी अस्पताललाई आधुनिक सुविधा सम्पन्न अस्पतालमा रूपान्तरण गर्न सरकार गम्भीर रहेको बताए ।

यसअघि अस्पतालका चिकित्सक र कर्मचारीहरूले मन्त्रीसमक्ष बिरामीको चाप, औषधीको कमी, उपकरण अभाव र संरचनागत समस्या जस्ता विषयहरू प्रस्तुत गरेका थिए ।
उनीहरूले अस्पतालमा प्रदेश सरकारको निरन्तर ध्यान र सहयोग आवश्यक रहेको धारणा राखे ।
निरीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अस्पतालका चिकित्सक, नर्स, कर्मचारी तथा सेवा उपभोक्ताहरूको समेत उपस्थिति थियो । कार्यक्रममा सहभागीले मन्त्रीलाई अस्पतालमा देखिएका समस्या र तत्काल समाधान गर्नुपर्ने आवश्यकताबारे जानकारी गराएका थिए ।
प्रदेश सरकारले नारायणी अस्पताललाई प्रदेश स्तरमै नमूना अस्पतालको रूपमा विकास गर्ने दीर्घकालीन योजना बनाएको उल्लेख गर्दै मन्त्री कुशवाहले यो लक्ष्य हासिल गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक हुनेमा जोड दिएका छन् ।