जगत राई
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल तेक्वान्दो संघ पर्सा जिल्ला कार्यसमितिको दोस्रो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। बीरगञ्जको स्थानीय होटल डायमण्ड पार्टी प्यालेसमा भएको अधिवेशनले गणेशमान श्रेष्ठलाई पुनः अध्यक्ष चयन गर्दै १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। यसअघि पनि श्रेष्ठकै नेतृत्वमा समिति सञ्चालन हुँदै आएको थियो।
कार्यक्रमको उद्घाटन संस्थापक अध्यक्ष ओमप्रकाश शर्माले गर्नुभएको थियो। कार्यक्रममा संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, खेलप्रेमी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अध्यक्षमा पुनः चयन भएपछि श्रेष्ठले खेलकुदले समाजमा एकता र अनुशासन कायम गर्ने भूमिका खेल्ने भन्दै तेक्वान्दोको पहुँच गाउँ–गाउँसम्म पुर्याउने र खेलाडीहरूको सीप तथा संरचनात्मक विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

संस्थापक अध्यक्ष शर्माले तेक्वान्दोको प्रारम्भिक यात्रादेखि हालसम्मको प्रगति स्मरण गर्दै नयाँ नेतृत्वले अझ राम्रो उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। अधिवेशनले उपाध्यक्षमा बिरेन्द्र बहादुर कुर्मी क्षेत्री र कुमार मानन्धर, सचिवमा रमेश मानन्धर, कोषाध्यक्षमा रोशन गुप्ता, सहसचिवमा देवलाल ठाकुर र सदस्यहरूमा रोशनी श्रेष्ठ, नवलकिशोर साह, हरिनारायण पटेल, राजु साह तुराहा, अरविन्द साह, अरुण झा, महम्मद मन्सुर मियाँ, राजेन्द्र खण्गी र महम्मद वर्सलाई चयन गरेको छ। साथै, सल्लाहकारमा निशान्त लामिछाने, ओमप्रकाश शर्मा, प्रदिप तिवारी र राम श्रेष्ठ रहेका छन्।
कार्यक्रममा खेलाडी अवन्ती झा, राजेन्द्र शाही, निर्वाचन संयोजक चन्द्र भूषण साह, नाजिर हुसेन, निशान्त लामिछाने र राम श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो। नयाँ कार्यसमितिले तेक्वान्दो खेललाई अझ मजबुत बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जिल्लाको योगदान बढाउने लक्ष्य लिएको जनाएको छ।