जगत राई
मानव धर्मका प्रणेता सतगुरु श्री सतपालजी महाराजको ७४ औं जन्म उत्सवको अवसरमा नेपाल मानव धर्म समिति, बीरगंजले शनिबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। “रक्तदान जीवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा ४ महिला सहित कुल ३२ जनाले रक्तदान गरेका थिए। सहभागीहरूमा मनिषा कुमारी माझी, गणेश चौधरी, पवन गौतम, कृष्ण सरार्फ, शंकर उदास, महेश उदास, मिरा देवी, राकेश चौधरी, दिपेन्द्र साह, दिपु साहलगायत रहेका थिए।

कार्यक्रम बीरगंज महानगरपालिका–१५ स्थित समितिको कार्यालय भवन परिसरमा सम्पन्न भएको हो। नेपाल मानव धर्म समिति, नारायणी अञ्चलका क्षेत्रीय सभापति तथा बीरगंज–९ का वडा अध्यक्ष श्री जवाहर प्रसाद गुप्ता प्रमुख अतिथि रहनुभएको थियो भने समिति बीरगंजकी माहात्मा सरयु बाइजीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो।
प्रमुख अतिथि गुप्ताले रक्तदाताहरूप्रति आभार व्यक्त गर्दै मानव धर्म समितिको सेवाभावनात्मक कार्यको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “रक्तदान केवल जीवन बचाउने काम मात्र होइन, यो सामाजिक उत्तरदायित्व पनि हो।”
सभापति सरयु बाइजीले सतगुरु श्री सतपालजी महाराजका शिक्षाबाट प्रेरित भई आगामी दिनमा पनि यस्ता सेवा–कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो। रक्त संचार केन्द्रका प्राविधिक जितेन्द्र कुशवाहाका अनुसार कुल ३२ जना रक्तदातामध्ये ४ जना महिला रहेका थिए। समितिका सदस्य राकेश चौधरीका अनुसार सतगुरु श्री सतपालजी महाराजको जन्मोत्सवको अवसरमा आगामी दिनमा पनि समाजिक सेवा र जनहितका कार्यक्रमहरू निरन्तर आयोजना गरिनेछ।