जगत राई
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–२ स्थित सखुइ जमुनियामा हालै घटेको आगजनी घटनामा गम्भीर घाइते भइ मृत्यु भएकी महिलाको परिवारलाई गाउँपालिकाले आर्थिक राहतस्वरूप रु १ लाख सहयोग प्रदान गर्ने घोषणा गरेको छ।
गाउँपालिका प्रमुख जसवन्त यादवले नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको घरमा भएको आगजनीका क्रममा घाइते भएकी ४५ वर्षीया सोशीला देवी हजाराको निधनप्रति दुस्ख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहतस्वरूप नगद सहयोग दिने घोषणा गरेका हुन्।
स्थानीय स्रोतका अनुसार, ‘जेनजी समूह’ नामक समूहले रुंगटाको घरमा आगजनी गराउँदा सो घरमा बसोबास गरिरहेकी सोशीला देवी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लगिएको थियो तर अवस्था गम्भीर हुँदै गएपछि उनको मृत्यु भएको हो।
गाउँपालिका प्रमुख यादवले घटनाको निष्पक्ष छानबिन हुनु पर्ने र दोषीहरूलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता पनि जनाएका छन्। साथै, उनले हिंसात्मक गतिविधि कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै शान्ति, सहिष्णुता र आपसी सद्भाव कायम राख्न स्थानीयवासीलाई आग्रह गरेका छन्।
यस घटनाले स्थानीय स्तरमै ठूलो चासो र आक्रोश उत्पन्न गराएको छ। राजनीतिक दृष्टिले समेत संवेदनशील मानिएको यो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ। घरमा आगजनीमा जलिरहेको अवस्थामा घाइते हजाराको तत्काल सुरक्षाकर्मीहरुले उदार गरि उपचार गर्न लागेको थियो अहिले उपचार गर्ने क्रममा मृत्यु भएको छ।
पालिका प्रमुख यादवले बताए अनुसार आफ्नो पालिका भित्रका जनता भएकोले आफ्नो जनताको लागि केही राहत उपलब्ध गराउने काम गरेको बताएका छन् ।
जनप्रतिनिधि भनेको जनताको भावना बुझ्न जरुरी हुन्छ त्यसैले यो तत्काल राहत स्वरूप सहयोग गरेको प्रमुख यादवले बताएका हुन ।