जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त बनेको वीरगञ्ज महानगरपालिका कार्यालय पुनःसञ्चालनमा सहजता ल्याउन सूर्या नेपाल प्रालिले विभिन्न विद्युतीय सामग्री सहयोग गरेको छ।
गत भदौ २४ गतेको आन्दोलनमा अराजक समूहले गरेको लुटपाट, तोडफोड र आगजनीका कारण महानगरको भवनसहित सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएको थियो। त्यसपछि कार्यालयको दैनिक प्रशासनिक कार्य ठप्प भएको थियो।
सामाजिक उत्तरदायित्वअन्तर्गत सूर्या नेपाल प्रालिले दुई थान कम्प्युटर सेट ९युपिएससहित०, दुई थान ल्यापटप र दुई थान प्रिन्टर शनिबार वीरगञ्ज महानगरपालिकालाई हस्तान्तरण गरेको हो। कार्यालयमै आयोजित कार्यक्रममा सूर्या नेपालका प्रतिनिधि प्रभाकर विक्रम शाहले मेयर राजेशमान सिंहलाई ती उपकरणहरू प्रदान गरे।
सहयोग ग्रहण गर्दै मेयर सिंहले सूर्या नेपालप्रति आभार व्यक्त गरे। उनले भने, “महानगरपालिकाको दैनिक कामकाज सहज बनाउन सूर्या नेपालले पुर्याएको योगदानप्रति आभारी छु। भविष्यमा पनि साझेदारीका कार्यक्रमहरू निरन्तर रहून् भन्ने अपेक्षा राखेको छु।”
सो अवसरमा सूर्या नेपालका प्रभाकर विक्रम शाहले नगरको पुनःनिर्माणमा निरन्तर साथ दिने प्रतिबद्धता जनाए। “नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो। सबै मिलेर सहकार्य गरे महानगर छिट्टै उठ्नेछ,” उनले भने
।
कार्यक्रममा सूर्या नेपाल प्रालिका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठले वीरगञ्ज महानगरलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। हस्तान्तरण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, सूर्या नेपालका वरिष्ठ प्रबन्धक यज्ञ आलेलगायतको उपस्थिति थियो।