पर्सा जिल्लामा नजिकिँदै गरेको विजयादशमी, शुभ दीपावली र छठ पर्वलाई शान्तिपूर्ण र सभ्य ढंगले मनाउन पर्साका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० तोयनारायण सुवेदीले जिल्लावासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
जारी सूचनामार्फत उनले सम्पूर्ण नागरिकलाई चाडपर्वको अवसरमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिका शुभकामना दिँदै जिल्लामा शान्ति–सुरक्षा र सुव्यवस्था कायम राख्न सबैको सहकार्य आवश्यक भएको बताएका छन्।
सुवेदीले मठ–मन्दिर तथा धार्मिक स्थलमा अत्यधिक भीड नगर्न, व्यवस्थित रूपमा पूजा–आराधना गर्न र व्यक्तिगत सम्पत्तिको सुरक्षामा सचेत रहन अनुरोध गरेका छन्। गरगहना लगाएर भीडभाडमा नजान र कसैको मान–इज्जतमाथि आघात पुग्ने कार्य नगर्न समेत सचेतना दिलाइएको छ।
सूचनामा भनिएको छ, “पर्व मनाउँदा मादक पदार्थ सेवन नगर्नुहोस्, उच्च आवाजमा डि।जे। वा साउण्ड सिस्टम प्रयोग नगर्नुहोस् र कसैलाई दुर्व्यवहार वा अमर्यादित आचरण नगर्नुहोस्।”
वीरगञ्जलगायत जिल्लाका विभिन्न क्षेत्रमा अझै झाडापखाला र हैजाको जोखिम कायम रहेकाले सरसफाइमा विशेष ध्यान दिन, फोहोर छोएपछि वा खाना खानुअघि साबुनपानीले हात धुने, उमालेको वा क्लोरिनयुक्त पानी पिउने तथा पौष्टिक आहार सेवन गर्न पनि सुझाव दिइएको छ।
यसैगरी चाडपर्वमा चोरी, हुलदंगा वा अन्य आपराधिक गतिविधि बढ्न सक्ने भएकाले सतर्क रहन र कुनै घटना भएमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ। यात्राका क्रममा बढी भाडा असुल्ने, सिट अभाव वा गाडी समयमा नचल्ने समस्या आएमा पनि सुरक्षाकर्मीलाई खबर गर्न सिडिओले आह्वान गरेका छन्।
यातायात व्यवसायीलाई भने यात्रुहरूसँग इमानदारीका साथ सेवा प्रदान गर्न निर्देशन दिइएको छ।
“यदि शान्ति सुरक्षा भंग गर्ने गतिविधि देखिएमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गण वा प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्नुहोस्,” सूचनामा भनिएको छ।
सुवेदीले अन्त्यमा जिल्लावासी सबैलाई मिलेर पर्वलाई सुरक्षित, सभ्य र व्यवस्थित तरिकाले मनाउन आग्रह गर्दै धन्यवाद दिएका छन्।