हालैको अविरल वर्षा र बाढीका कारण प्रभावित दलित बस्तीका पीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला समिति पर्साले राहत वितरण गरेको छ।
संगठनले बाढीले प्रभावित भएको छपकैया स्थित दलित समुदायको बस्तीमा पुगेर तीसवटा घरपरिवारलाई राहत स्वरूप तीस पोका सामग्री वितरण गरेको हो। ती सामग्रीहरूमा दैनिक प्रयोगका खाद्यान्न, खाजा पकाउन आवश्यक सामाग्री र अन्य अत्यावश्यक वस्तुहरू रहेका थिए।

राहत वितरण कार्यक्रम बाढीले घरबारविहीन बनेका स्थानीयहरूका लागि राहत र हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो। सो क्रममा बाढीले पूर्ण वा आंशिक रूपमा क्षति पुर्याएका तीस घरका पीडितहरूलाई प्रत्यक्षरूपमा सामग्री हस्तान्तरण गरिएको जिल्ला समितिले जनाएको छ।
कार्यक्रममा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष अम्मा दत्त भट्ट प्रमुख अतिथि रहनु भएको थियो। सो अवसरमा उहाँले संगठनले सधैं विपद् र संकटको समयमा जनताको साथमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“निजामती कर्मचारी केवल कार्यालयसम्म सीमित छैनन्, हामी समाजका प्रत्येक वर्गका साथमा छौं, विशेषगरी दलित, गरिब र विपन्न समुदायको सहयोगमा सधैं तयार रहनेछौं,” अध्यक्ष भट्टले भन्नुभयो।
त्यस्तै, केन्द्रीय सचिव विनोद चौधरी र सचिव राजेन्द्र रानाले पनि बाढीले प्रभावित समुदायप्रति सहानुभूति व्यक्त गर्दै राहत अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए। कार्यक्रमका सहभागीहरूले राहतसँगै बाढीपछिको स्वास्थ्य र सरसफाइप्रति सचेत रहन स्थानीयलाई आग्रह गरे।
राहत वितरण कार्यक्रममा केन्द्रिय परिषद् सदस्य दिपेन्द्र पुलामी, पूर्व केन्द्रीय सदस्य मनोज कुमार भण्डारी, मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष जगबन्धन साह, पर्सा जिल्ला उपाध्यक्ष धिरेन्द्र जयसवाल लगायत जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
स्थानीयवासीहरूले नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनप्रति आभार व्यक्त गर्दै संकटको घडीमा साथ दिएको भन्दै धन्यवाद दिएका छन्।
संगठनका प्रतिनिधिहरूका अनुसार, आगामी दिनमा पर्सा जिल्लाका अन्य बाढी प्रभावित क्षेत्रमा पनि राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।