आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा बाराको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउन आउने नागरिकहरूको भीड बढ्दै गएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत नविन चौधरीका अनुसार, निर्वाचनसम्बन्धी अध्यादेश असोज १० गते जारी भएपछि कार्तिक १९ गतेसम्म तीन हजार ८५० जना नयाँ मतदाता नामावलीमा थपिएका छन्। यसमध्ये दुई हजार ४३७ पुरुष र एक हजार ४१३ महिला रहेका छन्।
चौधरीले बताए अनुसार, “दैनिक करिब २००–२५० जना सेवाग्राहीहरू नाम दर्ता, संशोधन वा अद्यावधिकका लागि कार्यालयमा आउने गरेका छन्।” निर्वाचन आयोगले नाम दर्ता तथा अद्यावधिकको समय कार्तिक मसान्तसम्म तोकेको छ।
त्यसैगरी, १७८ जनाले आफ्ना नाम, ठेगाना र थरमा भएको त्रुटि सच्याइसकेका छन्। हाल बारामा कुल मतदाता संख्या ४,४०,५१५ रहेको छ। यसमध्ये १,९९,३४३ महिला, २,४१,१६१ पुरुष र ११ जना तेश्रो लिङ्गी रहेका छन्, जानकारी जिल्ला निर्वाचन कार्यालय बाराका नायब सुब्बा तथा सूचना अधिकारी मुकेश कुमार सिंहले दिएका छन्। यो तथ्याङ्क असार २०८२ मसान्तसम्मको हो।
सिंहका अनुसार, दरबन्दी अभाव हुँदाहुँदै पनि कार्यालयले सहायक कर्मचारीहरूको सहयोगमा प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदाता नामावली दर्ता, संशोधन र अद्यावधिकको काम नियमित रुपमा सञ्चालन गर्दै आएको छ। निर्वाचन नजिकिँदै गर्दा जनचासो र सहभागिता उल्लेखनीय रूपमा बढेको देखिएको छ। स्थानीय तहका बासिन्दा, युवादेखि वृद्धासम्म, आगामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएका छन्।
निर्वाचन कार्यालयले समयमै आफ्नो नाम दर्ता गराउन बाँकी रहेका मतदाताहरूलाई जानकारी दिने र आवश्यक परेमा दर्ता प्रक्रिया सम्पन्न गराउने अभियान पनि सञ्चालन गरिरहेको छ।